बाजुराको माटोमा सम्भावना खोज्दै मनबहादुर रोकाय

बाजुराको माटोमा सम्भावना खोज्दै मनबहादुर रोकाय


बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१, जोरुका मानबहादुर रोकाया अहिले आफ्नै माटोमा कृषि उद्यमको सम्भावना खोजिरहेका छन्। शिक्षण पेशामा लामो समय बिताएका रोकायाले २०७५ सालदेखि जागिर छाडेर कृषि पेशालाई आफ्नो मुख्य कर्म बनाएका हुन्।
वि.सं. २०३६ साल भाद्र १० गते आमा काैछ रोकाया र बुवा विस्न रोकायाका छोरा रूपमा जन्मिएका रोकायाले स्थानीय विद्यालयबाट प्लस टुसम्मको शिक्षा हासिल गरेका छन्। शिक्षण पेशाबाट राजीनामा दिएपछि उनले ‘आधुनिक कृषि तथा पशुपन्छी विकास फर्म’ स्थापना गरी फलफूल तथा रैथाने बालीको उत्पादनमा आफूलाई समर्पित गरेका छन्।
स्याउ खेतीलाई प्राथमिकतामा राखेका रोकायाले नाैहजार बर्गमिटरमा स्याउका बिरुवा रोपेर व्यावसायिक उत्पादनको प्रयास गरे। सुरुआती चरणमा अपेक्षाअनुसार सफलता नपाए पनि उनले हिम्मत हारेनन्।  अहिले थप जग्गामा करिब २०० वटा स्याउ र २०० वटा ओखरका बिरुवा लगाएर व्यावसायिक कृषि विस्तार गरिरहेका छन्। देसका विभिन्न स्वाउ फारम जुम्ला लगायत अबलोकन गरेको छिमेकी देशका सिम्ला पहाड सम्म पनि यसको अध्ययन अबलोकनको लागि पुगेको उहाँ बताउनु हुन्छ ।
यससँगै कोदो, फापर, सिमी लगायतका स्थानीय तथा रैथाने बाली पनि उत्पादन गर्दै आएका छन्।                    
उत्पादन , बजारसम्म पुग्न कठिन
रोकायाको बारीमा यस वर्ष करिब २५० वटा स्याउका बोटमा फल लागेको छ। तर उत्पादन बढ्दै जाँदा बजारसम्म पुर्‍याउने चुनौती भने झनै गम्भीर बनेको छ।
“हामी उत्पादन गर्न सक्छौँ, तर उत्पादनलाई बजारसम्म पुर्‍याउन निकै कठिन छ,” रोकायाको अनुभव छ।
आफ्नै प्रदेशमा सहज रूपमा स्याउ बिक्री गर्ने पर्याप्त बजार तथा ढुवानी सुविधा नहुँदा उनीहरू खच्चरमार्फत करिब चार घण्टा ढुवानी गरेर सडकसम्म उत्पादन पुर्‍याउँछन्। त्यसपछि तिलिचौर हुँदै कालिकोट, दैलेख, तल्लो डुंगेश्वर हुँदै सुर्खेतसम्म स्याउ लैजाने गर्छन्। सुर्खेतमा बजार नपाए बर्दिया हुँदै कैलाली र कञ्चनपुरसम्म पुर्‍याउने योजना उनीहरूको हुन्छ।
अझ आफ्नै जिल्ला सदरमुकाम मार्तडीसम्म उत्पादन पुर्‍याउनसमेत सहज छैन। दुईवटा नदीमा अझै पुल निर्माण नभएको तथा वर्षायाममा सडक बिग्रिएर यातायात प्रभावित हुने भएकाले स्थानीय बजारसम्म उत्पादन लैजान थप कठिनाइ हुने रोकाया बताउँछन्।
सरकारी सहयोग छ, तर पर्याप्त छैन ।
कृषि ज्ञान केन्द्र तथा स्थानीय तहबाट सामान्य सहयोग प्राप्त भए पनि व्यावसायिक कृषि सञ्चालनका लागि आवश्यक प्राविधिक ज्ञान, व्यवस्थापन तालिम, बजार व्यवस्थापन, सिँचाइ तथा ढुवानी पूर्वाधारमा पर्याप्त सहयोग प्राप्त हुन नसकेको रोकायाको गुनासो छ।
स्याउ खेतीमा खडेरी, सिँचाइको अभाव, रोग तथा किराको व्यवस्थापन र बजारको अनिश्चितताले आफूलाई सधैँ चिन्तित बनाउने उनी बताउँछन्।

“आशा गरेर व्यवसाय सुरु गरियो, तर व्यवसायबाट ढुक्क हुने अवस्था अझै बनेको छैन,” उनको भनाइ छ। परिवार नै खेतमा, छोराछोरी पनि कृषिमा रोकायाको कृषि यात्रामा उनको परिवार नै सहयात्री बनेको छ। श्रीमती, एक छोरा र एक छोरीसहित परिवारका सदस्यहरू दिनरात कृषि काममा जुटिरहेका छन्। विद्यालयबाट बिदा भएका बेला छोराछोरीले समेत बारीको काममा सहयोग गर्ने गरेका छन्। उनका लागि कृषि केवल आम्दानीको माध्यम मात्र होइन, परिवार र भावी पुस्तालाई आफ्नै माटोसँग जोड्ने अभियान पनि हो।


विदेश होइन, आफ्नै माटोमा भविष्य
आफूसँगैका धेरै युवा रोजगारीका लागि विदेश जाने वा तराईतर्फ बसाइँ सर्ने क्रम बढिरहेका बेला रोकायाले भने आफ्नै गाउँमा बसेर उत्पादन गर्ने बाटो रोजेका छन्।
बाँझो तथा उपयोगविहीन जमिनलाई उत्पादनमा जोड्ने उनको लक्ष्य छ। स्थानीय युवालाई कृषिमा आकर्षित गर्दै आफ्नै प्रदेश र आफ्नै देशमा उत्पादन बढाएर आर्थिक समृद्धिमा योगदान पुर्‍याउने उनको सपना छ।
उनको सोच स्पष्ट छ—“आफ्नो माटोमा मेहनत गर्ने हो भने सम्भावना यहीँ छ; आवश्यक छ त केवल प्रविधि, बजार, पूर्वाधार र राज्यको साथ।”


मनबहादुर रोकायाको कथा एउटा किसानको मात्र कथा होइन। यो सुदूरपश्चिमका हिमाली गाउँमा रहेको कृषि सम्भावना, युवाको आत्मनिर्भर बन्ने चाहना र उत्पादनमुखी अर्थतन्त्र निर्माणको एउटा उदाहरण हो।
बाजुराको दुर्गम बस्तीमा उत्पादन भइरहेको स्याउ, ओखर र रैथाने बालीलाई बजारसम्म पुर्‍याउन राज्य, स्थानीय तह, निजी क्षेत्र र उपभोक्ताबीच सहकार्य हुन सके रोकायाजस्ता किसानको मेहनतले गाउँको अर्थतन्त्र मात्र होइन, ‘आफ्नै उत्पादन, आफ्नै बजार र आफ्नै समृद्धि’ को अभियानलाई समेत बलियो बनाउन सक्छ।


उत्पादन गर्ने हातलाई बजारको साथ र मेहनत गर्ने किसानलाई राज्यको भरोसा यही नै समृद्ध सुदूरपश्चिम निर्माणको आधार बन्न सक्छ।


समृद्ध सुदूरपश्चिम  अभियानका अभियन्ता रविन भट्टले तयार पारेको समाग्रि ।

Vip
97 0

0 Comments

Leave a comment

सम्पर्कमा रहनुहोस्

Follow Us
फ्लिकर फोटोहरू

© 2026 Samriddha Sudurpashchim. All Rights Reserved. developed by Futurelink Technologies Pvt. Ltd