तीन भैँसीबाट सुरु भएको यात्रा : आज करोडभन्दा बढीको पशुपालन व्यवसाय

तीन भैँसीबाट सुरु भएको यात्रा : आज करोडभन्दा बढीको पशुपालन व्यवसाय


कैलाली — आफ्नै गाउँमा बसेर केही गर्न सकिन्छ भन्ने दृढ विश्वासका साथ सुरु गरिएको सानो पशुपालन व्यवसाय अहिले करोडौँ रुपैयाँको लगानी भएको व्यावसायिक फार्ममा परिणत भएको छ। कैलालीको  लम्किचुहा नगरपालिका ८ गप्काका मयराम जैसी एक उधारण हुन   ।
२०२९ सालमा मोहन्याल गाउँपालिका–सुमरखालमा जन्मिएका जैसी बुवा गंगाराम जैसी  आमा  पवित्रा देवी जैसी र लक्ष्मी देवी जैसिका आठ छोरा र तीन छोरीमध्ये माइला छोरा हुनुहुन्छ  ।  जैसीले लम्किचुहा नगरपालिका ८ गप्का, कैलालीमा २०७३ सालमा तीनवटा भैँसी र सामान्य गोठबाट आफ्नो व्यावसायिक पशुपालन यात्रा सुरु गरेका थिए। सुरुवाती लगानी करिब दुई लाख रुपैयाँ थियो। निरन्तरको मेहनत, अनुभव र लगानी विस्तार गर्दै अघि बढेका जैसीको कालिका देवी भैँसी फार्ममा अहिले २२ वटा भैँसी र १५ वटा गाई छन्। फार्ममा हालसम्मको लगानी करोड रुपैयाँभन्दा बढी पुगेको छ।
जैसीका लागि पशुपालन केवल आम्दानीको माध्यम मात्र होइन, पुर्ख्यौली पेसालाई आधुनिक र व्यवस्थित व्यवसायमा रूपान्तरण गर्ने अभियान पनि हो। उनका बुबाले समेत भैँसी र गाई पाल्दै आएको देखेका जैसीले परम्परागत पशुपालनलाई व्यावसायिक स्वरूप दिन सके आफ्नै गाउँमा बसेर राम्रो आम्दानी गर्न सकिने निष्कर्ष निकाले। अरू ठाउँमा गएर रोजगारी खोज्नुभन्दा आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले पशुपालन सुरु गरेको हुँ,” जैसीको भनाइ छ।

पशुपालनसम्बन्धी औपचारिक अध्ययन नगरेका जैसीले आफ्नो व्यवसायलाई व्यवस्थित बनाउन १८ दिने भैँसी तथा गाईपालनसम्बन्धी प्राविधिक तालिमसमेत लिएका छन्। स्थानीय सरकार र प्रदेश सरकारबाट सामान्य सहयोग प्राप्त भए पनि व्यावसायिक पशुपालनलाई अझ प्रभावकारी बनाउन सरकारको थप प्राविधिक, पूर्वाधार तथा बजार व्यवस्थापनसम्बन्धी सहयोग आवश्यक रहेको उनको बुझाइ छ।
फार्ममा लोकल तथा मुर्रा क्रस भैँसी, जर्सी क्रस स्थानीय जातका गाई पालिएका छन्। दैनिक करिब ९० देखि १२० लिटरसम्म दूध उत्पादन हुने गरेको जैसी बताउँछन्। फार्मबाट मात्र होइन, गाउँका अन्य साना तथा ठूला पशुपालकबाट समेत दूध सङ्कलन गरेर बजारमा बिक्री गर्ने काम उनले सुरु गरेका छन्।
दूध सङ्कलनका लागि गाउँमै केन्द्र स्थापना गरेका जैसीले सङ्कलित दूध तथा आफ्नै फार्मको उत्पादन दुग्ध विकास संस्थान (डीडीसी)मा बिक्री गर्दै आएका छन्। यसले उनको व्यवसायलाई उत्पादनमा मात्र सीमित नराखी स्थानीयस्तरमा दूधको बजार व्यवस्थापनसँग समेत जोडेको छ।
भैँसी तथा गाईबाट जन्मिएका पाडापाडी र बाच्छाबाच्छी पनि उनको आम्दानीको अर्को स्रोत बनेका छन्। वर्षमा करिब १०–१२ वटा भैँसीका पाडा बिक्री गर्ने तथा गाईका बाच्छाबाच्छी पनि बिक्री वितरण गर्ने गरेको जैसी बताउँछन्। केही पशु भने आफ्नै फार्म विस्तारका लागि राख्ने गरिएको छ।

जैसीको फार्मले स्थानीयस्तरमै रोजगारीको अवसरसमेत सिर्जना गरेको छ। पारिवारिक सदस्यको सहयोगसँगै उनले दुई जना कर्मचारीलाई नियमित रोजगारी दिएका छन्। श्रीमती र छोराले समेत फार्मको दैनिक काममा सहयोग गर्दै आएका छन्। यसरी एउटा परिवारको मेहनतबाट सुरु भएको व्यवसायले अहिले अन्य परिवारका सदस्यलाई समेत रोजगारीसँग जोडेको छ।
पशुपालनका लागि करिब दुई बिघा जमिनमा घाँस खेती गरिएको छ। हरियो घाँस आफ्नै खेतमा उत्पादन गर्ने प्रयास भए पनि पराल तथा सुक्खा घाँसको अभाव भने वर्षेनी समस्या बन्ने गरेको जैसी बताउँछन्। विशेषगरी धान , गहु काटिसकेपछि पराल भुसा  खेतमै थ्रेसर गरेर व्यवस्थापन गर्ने प्रवृत्तिले पशुपालकलाई आवश्यक मात्रामा सुक्खा घाँस तथा पराल उपलब्ध हुन कठिन हुने उनको भनाइ छ।
“हरियो घाँसका लागि हामी आफैँ उत्पादन गरिरहेका छौँ। तर पराल र सुक्खा घाँसको दिगो व्यवस्थापन अझै चुनौती छ। सरकारले पशुपालकलाई आवश्यक पर्ने घाँस तथा पराल व्यवस्थापनमा दीर्घकालीन योजना बनाउनुपर्छ,” जैसी भन्छन्।
उनका अनुसार पशुपालनमा उत्पादन बढाउन पशु आहार, घाँस, पशु स्वास्थ्य, प्राविधिक सेवा, बीमा, बजार र उचित मूल्यको सुनिश्चितता एकसाथ आवश्यक हुन्छ। किसानले उत्पादन गरेपछि बजार नपाउने अवस्था आएमा ठूलो लगानी जोखिममा पर्ने भएकाले सरकारले उत्पादनदेखि बजारीकरणसम्म अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा छ।
आफ्नो फार्मबाट वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको जैसी बताउँछन्। परिवारको पालनपोषण, छोराछोरीको शिक्षा तथा फार्म सञ्चालनका खर्च कटाएर पनि पशुपालनबाट सन्तोषजनक आम्दानी भइरहेको उनको अनुभव छ।
करिब १२ वर्षदेखि आफ्नै गोठमा रमाइरहेका जैसी अहिले व्यक्तिगत फार्मभन्दा माथि उठेर गाउँको दूध उत्पादन र सङ्कलन प्रणालीलाई समेत व्यवस्थित बनाउन सक्रिय भएका छन्। यसले स्थानीय किसानको दूधलाई बजारसँग जोड्नुका साथै गाउँमै दूध उत्पादन बढाउने वातावरण सिर्जना गरेको छ।
जैसीको यात्राले एउटा महत्वपूर्ण सन्देश दिन्छ—रोजगारी खोज्न गाउँ छोड्नैपर्छ भन्ने छैन; सीप, मेहनत, व्यवस्थापन र बजारको पहुँच भए आफ्नै माटोमा रोजगारी सिर्जना गर्न सकिन्छ। तीनवटा भैँसी र सामान्य गोठबाट सुरु भएको उनको यात्रा आज दर्जनौँ पशु, करोडभन्दा बढीको लगानी, स्थानीय रोजगारी र गाउँको दूध सङ्कलन केन्द्रसम्म पुगेको छ।
नेपालमा दूध तथा दुग्धजन्य पदार्थको माग बढिरहेका बेला यस्ता व्यावसायिक पशुपालकलाई राज्यले उत्पादनमुखी अर्थतन्त्रको आधारका रूपमा हेर्नुपर्ने आवश्यकता छ। किसानलाई अनुदानमा मात्र निर्भर बनाउनेभन्दा घाँस उत्पादन, पशु स्वास्थ्य, प्राविधिक सेवा, सहुलियतपूर्ण कर्जा, बीमा, चिस्यान केन्द्र, दूध सङ्कलन, प्रशोधन र बजारको सुनिश्चिततासहितको दीर्घकालीन नीति आवश्यक देखिन्छ।
विशेषगरी विदेशबाट आउने घ्यू, दूध तथा अन्य दुग्धजन्य पदार्थको आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सके किसानको उत्पादन बढ्नुका साथै देशको पैसा विदेशिनबाट रोक्न सकिन्छ। स्वदेशमै पर्याप्त उत्पादन, प्रशोधन र बजार निर्माण गर्न सके दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भरता हासिल गर्ने आधार बलियो बन्न सक्छ।

मय राम जैसीको कथा यही सम्भावनाको एउटा स्थानीय उदाहरण हो। पुर्खाले गर्दै आएको पेसालाई आधुनिक व्यवसायमा रूपान्तरण गर्दै उनले आफ्नै परिवारको भविष्य मात्र बनाएका छैनन्, गाउँमै रोजगारी सिर्जना गरेका छन्, स्थानीय किसानको दूध बजारसँग जोडिरहेका छन् र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा आफ्नो ठाउँबाट योगदान दिइरहेका छन्।
अब आवश्यकता यस्ता किसानको मेहनतलाई केवल व्यक्तिगत सफलताको कथाका रूपमा हेर्ने होइन, देशको कृषि र पशुपालन अर्थतन्त्रको मेरुदण्डका रूपमा राज्यले जिम्मेवारीपूर्वक संरक्षण र प्रवर्द्धन गर्ने हो।
समृद्ध सुदूरपश्चिम अभियानका अभियन्ता रविन भट्टले तयार पारेको समाग्रि । 

Vip
53 0

0 Comments

Leave a comment

सम्पर्कमा रहनुहोस्

Follow Us
फ्लिकर फोटोहरू

© 2026 Samriddha Sudurpashchim. All Rights Reserved. developed by Futurelink Technologies Pvt. Ltd