सुदूरपश्चिममा स्वीमिङ व्यवसायको विस्तार : चेम्बरद्वारा स्विमिङ प्रतियोगिता तथा पिकनिक कार्यक्रम सम्पन्न

सुदूरपश्चिममा स्वीमिङ व्यवसायको विस्तार : चेम्बरद्वारा स्विमिङ प्रतियोगिता तथा पिकनिक कार्यक्रम सम्पन्न

सुदूरपश्चिममा स्वीमिङ व्यवसायको विस्तार : चेम्बरद्वारा स्विमिङ प्रतियोगिता तथा पिकनिक कार्यक्रम सम्पन्न ।
सुदूरपश्चिम प्रदेशमा पछिल्ला एक–दुई वर्षयता स्वीमिङ पुल तथा वाटर रिक्रियसन व्यवसायमा उल्लेखनीय लगानी बढ्दै गएको छ। गाउँदेखि शहरसम्म विभिन्न स्थानमा स्वीमिङ पुल सञ्चालनमा आएका छन् भने केही निर्माण तथा सञ्चालनको अन्तिम तयारीमा रहेका छन्। निजी क्षेत्रका व्यवसायीहरूले युवादेखि परिवारसम्मलाई लक्षित गर्दै आधुनिक सुविधा सहितका स्वीमिङ स्थल विस्तार गरिरहेका छन्।
विशेषगरी गर्मी मौसममा आकर्षणको केन्द्र बन्दै गएको स्वीमिङ गतिविधिप्रति बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको रुचि बढ्दो क्रममा रहेको छ। अहिले स्वीमिङ केवल मनोरञ्जनको माध्यम मात्र नभई स्वास्थ्य, फिटनेस तथा खेलकुद गतिविधिको रूपमा पनि स्थापित हुँदै गएको छ।
यसै सन्दर्भमा नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश र कैलाली चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा चेम्बर सदस्यहरूको भेटघाट तथा पिकनिक कार्यक्रमसँगै स्विमिङ प्रतियोगिता आयोजना गरिएको थियो। कार्यक्रममा पहिलो पटक चेम्बर सदस्यहरूबीच मैत्रीपूर्ण स्विमिङ कम्पिटिसनसमेत सम्पन्न गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी २५ जना प्रतिस्पर्धीमध्ये नरेश वि.सी. प्रथम स्थान हासिल गर्न सफल भएका छन्। उनी वान ब्ये डान्सका डान्स निर्देशकसमेत हुन्। त्यसैगरी दोस्रो स्थान गोदावरी चेम्बरका सचिव तथा युनिक स्टेशनरीका प्रोप्राइटर जनक भट्राईले  हासिल गरेका थिए। विजेता प्रतियोगीहरूलाई पुरस्कारको समेत व्यवस्था गरिएको थियो।
त्यसैगरी रमाइलो तथा मनोरञ्जनका लागि आयोजना गरिएको “सबैभन्दा बढी समय पानीभित्र डुब्न सक्ने” प्रतियोगितामा डाँडाबाग सनचाँदी पसलका सञ्चालक सुनिल सुनार प्रथम भएका थिए।
कार्यक्रममार्फत स्वीमिङ व्यवसायलाई व्यवस्थित र सुरक्षित बनाउने, पौडी खेल्ने संस्कृतिको विकास गर्ने तथा पौडीलाई प्रतियोगितात्मक खेलका रूपमा अगाडि बढाउन प्रेरणा दिने उद्देश्य रहेको आयोजकले जनाएको छ।
चेम्बरका अनुसार यो अभियान केवल व्यवसायीहरूको लगानी संरक्षण वा मनोरञ्जन प्रवर्द्धनमा सीमित नभई सुदूरपश्चिममा खेल पर्यटन प्रवर्द्धन तथा दक्ष पौडी खेलाडी उत्पादनतर्फ समेत महत्वपूर्ण कदम बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, कैलाली, कञ्चनपुर जिल्ला चेम्बर अफ कमर्स, धनगढी उपमहानगरपालिका चेम्बर, गौरीगंगा नगर चेम्बर, घोडाघोडी नगर चेम्बर, टिकापुर चेम्बर तथा गोदावरी चेम्बरको सहभागिता रहेको थियो।
कार्यक्रममा अतिथिका रूपमा हार्डवेयर व्यवसाय सङ्घ कैलालीका अध्यक्ष कुबेर शाही, इलेक्ट्रोनिक व्यवसाय सङ्घका निवर्तमान अध्यक्ष नेत्र तिवारी, होटल व्यवसायी सङ्घका अध्यक्ष वीरसिंह कार्की, फर्निचर व्यवसायी सङ्घका अध्यक्ष विष्णुदत्त बडु, पर्यटन व्यवसायी उपेन्द्र विष्ट, जिल्ला चेम्बरका सल्लाहकार हेमप्रकाश उप्रेती, नेपाल प्याब्सनका केन्द्रीय सल्लाहकार जगवीर थापा, खड्क शाह, सिद्धबाबा एकेडेमी बेलौरीका संस्थापक प्रधानाध्यापक, सामुदायिक होमस्टे महासंघका केन्द्रीय सल्लाहकार माधव चौधरी तथा मजगाउँ सामुदायिक थारु होमस्टेका अध्यक्ष/सञ्चालक कल्पना चौधरीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण कैलाली जिल्ला चेम्बरका निवर्तमान कोषाध्यक्ष सुखदेव सिंहले गरेका थिए भने व्यवस्थापनमा युवा चेम्बर प्रदेश अध्यक्ष जय धामी, मनोज दाहाल, सुदूरपश्चिम प्रदेश चेम्बरका महासचिव रविन भट्ट तथा कोषाध्यक्ष भुवनेश्वर भट्टको सक्रिय भूमिका रहेको थियो।
कार्यक्रममा कैलाली जिल्ला चेम्बरका अध्यक्ष प्रमोद अधिकारीले स्वागत मन्तव्यसहित कार्यक्रमबारे प्रकाश पारेका थिए भने समापन सुदूरपश्चिम प्रदेश चेम्बरका अध्यक्ष विनोद मल्लले गरेका थिए।
गोदावरी नगरपालिका–१ स्थित अतिथि रिभरसाइड स्वीमिङ पुलमा सम्पन्न उक्त कार्यक्रमले व्यवसायिक सम्बन्ध विस्तारसँगै पौडी खेलप्रति सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

Vip
199 0

0 Comments

Leave a comment

सम्पर्कमा रहनुहोस्

Follow Us
फ्लिकर फोटोहरू

© 2026 Samriddha Sudurpashchim. All Rights Reserved. developed by Futurelink Technologies Pvt. Ltd