स्याउ र ओखर बारीका धनी–धनबहादुर

स्याउ र ओखर बारीका धनी–धनबहादुर


बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका युवा कृषक समूह बनाई धनबहादुर रावलले आफ्नै गाउँको माटोमा सम्भावना खोज्दै व्यावसायिक स्याउ तथा ओखर खेतीबाट आत्मनिर्भर बन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ।
स्वामीकार्तिक खापर गाउँपालिका निवासी धनबहादुर रावलको जन्म २०४९ साल माघ २५ गते बुवा दीर्घबहादुर रावल र आमा डोईला  रावलको परिवारमा भएको हो। गाउँकै विद्यालयबाट प्लस टु तहसम्मको शिक्षा हासिल गर्नुभएका रावलले रोजगारीका लागि विदेश वा सहर धाउने बाटोभन्दा आफ्नै गाउँको माटोमा केही गर्ने सोच बनाउनुभयो।
सानैदेखि आफ्ना बुवाआमाले गर्दै आएको स्याउ खेती देख्दै हुर्किनुभएका रावललाई कृषि कर्मप्रति आकर्षण बढ्दै गयो। विशेषगरी २०६१ सालदेखि बुवाआमाले स्याउबारी सञ्चालन गरेको देखेपछि उहाँमा पनि व्यावसायिक रूपमा स्याउ खेती गर्ने इच्छा जागेको बताउनुहुन्छ। यही सोचलाई व्यवहारमा उतार्दै उहाँ २०७० सालदेखि व्यावसायिक रूपमा स्याउ तथा ओखर खेतीमा सक्रिय हुनुभएको हो।
हाल उहाँले करिब ५ देखि ७ रोपनी जमिनमा १ हजार १ सयभन्दा बढी स्याउका बोट र करिब १७० देखि १७५ वटा ओखरका बोट लगाउनुभएको छ। बारीमा गोल्डेन डेलिसियस र रेड डेलिसियस जातका स्याउहरू लटरम्म फलेका छन्। उचित उत्पादन र बजार व्यवस्थापन हुन सके वार्षिक ४ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सकिने उहाँको अनुभव छ।
कृषि क्षेत्रमा आवश्यक ज्ञान र सीप हासिल गर्न उहाँले विभिन्न संस्था तथा निकायबाट सामान्य तालिम तथा प्राविधिक जानकारीसमेत लिनुभएको छ। जिआइजेडको सहयोगमा बुटवलसम्म पुगेर कृषि सम्बन्धी जानकारी लिने अवसर पाएको उहाँ बताउनुहुन्छ। जिल्ला कृषि ज्ञान केन्द्र तथा स्वामीकार्तिक खापर गाउँपालिकाको कृषि शाखाबाट पनि सहयोग र प्रोत्साहन प्राप्त भएको उहाँको भनाइ छ। स्याउ तथा ओखरका केही बिरुवासमेत सम्बन्धित निकायबाट सहयोगस्वरूप प्राप्त भएको उहाँ बताउनुहुन्छ।
रावलको कृषि यात्रामा परिवारको भूमिका पनि महत्वपूर्ण छ। उहाँकी आमा, बहिनी, श्रीमती र स्वयं मिलेर दैनिक रूपमा स्याउबारीको हेरचाह गर्ने गरेका छन्। स्याउ पाकेर टिप्ने समयमा भने थप दुई जना श्रमिकलाई ज्यालादारीमा लगाउनुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ।


सिँचाइ अभाव मुख्य चुनौती
स्याउ खेतीमा सम्भावना राम्रो भए पनि रावलका लागि सबैभन्दा ठूलो चुनौती सिँचाइको अभाव हो। विशेषगरी मंसिरदेखि फागुनसम्मको सुख्खा समयमा स्याउका बोटमा फूल लाग्ने तथा आगामी उत्पादनका लागि महत्वपूर्ण तयारी हुने गर्दछ। यही समयमा पर्याप्त पानी नपर्ने र भुइँ सिँचाइको भरपर्दो व्यवस्था नहुँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने उहाँको अनुभव छ।
“स्याउ फुल्ने समयमा राम्रोसँग सिँचाइ गर्न सकियो भने उत्पादन राम्रो हुन्छ। तर मंसिर, पुस, माघ र फागुनमा पानी नपर्दा बोटलाई आवश्यक सिँचाइ गर्न नसकिने भएकाले उत्पादन घट्ने चिन्ता हुन्छ,” रावल बताउनुहुन्छ।
उहाँका अनुसार दुर्गम क्षेत्रमा सिँचाइको भरपर्दो व्यवस्था, कृषि प्राविधिक सेवा, बजार व्यवस्थापन र उत्पादनलाई सहज रूपमा बजारसम्म पुर्‍याउने व्यवस्था गर्न सके बाजुरामा स्याउ तथा ओखर खेतीको ठूलो सम्भावना छ।


फ्युचर कृषक समूह’मार्फत सामूहिक प्रयास
रावल व्यक्तिगत रूपमा मात्र नभई ‘फ्युचर कृषक समूह’ मार्फत पनि कृषि उत्पादन, बिक्री तथा वितरणमा जोड दिइरहनुभएको छ। अठार  जनाको समूहमा आबद्ध कृषकहरूले उत्पादनलाई व्यवस्थित गर्ने, बजार खोज्ने र कृषि व्यवसायलाई थप विस्तार गर्ने प्रयास गरिरहेका छन् । गाउँमा बसेर कृषि कर्म गर्दा पनि आम्दानी गर्न सकिन्छ, परिवारलाई रोजगारी दिन सकिन्छ र स्थानीय उत्पादनलाई बजारसँग जोडेर व्यवसाय विस्तार गर्न सकिन्छ भन्ने उदाहरण रावलले प्रस्तुत गर्नुभएको छ।
बाजुराजस्तो दुर्गम भूगोलमा पनि स्याउ र ओखर फलाउन सकिने प्रमाण उहाँको बारीले दिएको छ। आवश्यक सिँचाइ, प्राविधिक सहयोग, कृषि पूर्वाधार, भण्डारण तथा बजार व्यवस्थापनमा राज्य र सम्बन्धित निकायको थप ध्यान पुग्न सके यस्ता किसानले अझ ठूलो उत्पादन गर्न सक्ने सम्भावना देखिन्छ।
विदेशमा अवसर खोज्नुभन्दा आफ्नै गाउँको माटोमा सम्भावना खोज्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश बोकेको धनबहादुर रावलको कृषि यात्रा आजका युवाका लागि उदाहरण बन्न सक्छ। मेहनत, निरन्तरता र उचित सहयोग पाए आफ्नै माटोमा कृषि उद्यममार्फत सम्मानजनक आम्दानी र समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने विश्वास उहाँको सफलताले देखाएको छ।

समृद्ध सुदूरपश्चिम अभियानका लागि रविन भट्टले तयार पारेको समाग्रि

Vip
398 0

0 Comments

Leave a comment

सम्पर्कमा रहनुहोस्

Follow Us
फ्लिकर फोटोहरू

© 2026 Samriddha Sudurpashchim. All Rights Reserved. developed by Futurelink Technologies Pvt. Ltd