काठमा कोरेको आत्मनिर्भरताको कथा : युट्युबबाट सिकेर मासिक ५० हजारभन्दा बढी कमाउँछन् भक्तबहादुर
कञ्चनपुर — हातमा सीप र मनमा केही नयाँ गर्ने इच्छाशक्ति भए अवसर खोज्न टाढा जानुपर्दैन। यसको उदाहरण बनेका छन् कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा। सामान्य मोबाइल र इन्टरनेटको प्रयोग गर्दै उनले सिकेको काष्ठकलाले अहिले उनको आम्दानीको भरपर्दो माध्यम बनेको छ।
विगतमा फर्निचर तथा हाउस डेकोरेसनको काम गर्दै आएका महरालाई अनियमित रोजगारीका कारण परिवारको खर्च धान्न समस्या हुने गरेको थियो। यही परिस्थितिबाट बाहिर निस्कने क्रममा उनले युट्युबमा काठ तथा बाँसबाट विभिन्न सामग्री बनाउने भिडियो हेर्न थाले। भिडियो हेर्दै, अभ्यास गर्दै र आफ्नै तरिकाले डिजाइन परिमार्जन गर्दै उनले नयाँ सीप विकास गरे।
अहिले उनी विजयसालको काठ र बाँसबाट गिलास, जग, बोतल, अम्खोरा, कचौरा, फूलदानी, मसलादानी, बेलनालगायतका सामग्री बनाउँछन्। करिब दुई वर्षदेखि निरन्तर यस क्षेत्रमा लागिरहेका उनको उत्पादनको मूल्य रु. ५०० देखि रु. २ हजारसम्म पर्ने गरेको छ।

महराका अनुसार काष्ठकलाबाट अहिले मासिक रु. ५० हजारभन्दा बढी आम्दानी हुने गरेको छ। यसअघि कामको खोजीमा समय बिताउनुपर्ने अवस्था भए पनि अहिले आफ्नै घरमा बसेर सीपलाई व्यवसायमा परिणत गर्न पाउँदा उनी उत्साहित छु । मागअनुसार उत्पादन गर्न नसक्ने अवस्था छ।”
उनका उत्पादनप्रति ग्राहकको आकर्षण बढ्दै गएपछि बजारको समस्या छैन। बरु एक्लै काम गर्नुपर्ने भएकाले आएको मागअनुसार सामग्री उत्पादन गर्न कठिन भइरहेको उनी बताउँछन्।
स्थानीयस्तरमै पाइने काठ र बाँसलाई उपयोग गर्दै उनले परम्परागत शैलीका सामग्रीलाई आकर्षक डिजाइनमा तयार पारिरहेका छन्। आवश्यक कच्चा पदार्थ उपलब्ध गराउन स्थानीय सामुदायिक वनबाट समेत सहयोग मिलिरहेको उनको भनाइ छ।
महराको यो यात्रामा युट्युब एउटा महत्वपूर्ण सिकाइको माध्यम बनेको छ। सामाजिक सञ्जाललाई मनोरञ्जनमा मात्र सीमित नराखी सीप र ज्ञान हासिल गर्ने माध्यमका रूपमा प्रयोग गर्न सके त्यसबाट रोजगारी सिर्जना गर्न सकिने उनको अनुभवले देखाएको छ।
आर्थिक अभावबाट सुरु भएको उनको खोजी अहिले आत्मनिर्भरताको यात्रामा परिणत भएको छ। आफूले सिकेको सीपलाई अझ विस्तार गर्ने र उत्पादन बढाउने उनको योजना छ।

नेपाल युथ फाउण्डेशन नेपाल को आर्थीक तथा प्रविधीक सहयोगमा अहिले प्रशिक्षक को रूपमा काम गरिरहनु भएको छ । मिती २०८२/१०/५ गते संचात्वत भएको धनगडीउप-महानगर पालीकाले आयोजना गरेको सिप तथा रोजगर मेला " मा काठ कला सम्बन्धि एक महिना प्रशिक्षण पनि दिई सक्नु भयको छ उहाले । २०८३/२/२४ गते देखी शुक्लाफाटा नगरपालीकाको वडामा पनि एक महिने तालीममा प्रशिक्षकको रुपमा काम गरेको उहाँ बताउनु हुन्छ ।
“मेहनत गर्ने हो भने आफ्नै ठाउँमा बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ,” उनी भन्छन्, “मैले यही कामबाट त्यो अनुभव गरेको छु।”
भक्तबहादुरको कथा केवल एक व्यक्तिको सफलताको कथा होइन, स्थानीय स्रोत, प्रविधि र सीपलाई जोड्न सके गाउँमै रोजगारी र आम्दानीका नयाँ सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण पनि हो।
© 2026 Samriddha Sudurpashchim. All Rights Reserved.
developed by Futurelink Technologies Pvt. Ltd