गाउँकै माटोमा पसिना बगाउँदै तरकारी, फलफूल र अन्न उत्पादनमा आत्मनिर्भर किसान
जगन्नाथ — आफ्नै गाउँको माटोमा मेहनत गर्ने हो भने परिवार पाल्न र आयआर्जन गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् जगन्नाथ गाउँपालिका–१, ढाँडाकोट, काप्री टोलका बिर्खबहादुर रोकाया।
२०३६ साल भदौ १ गते अनिरुद्र रोकाया र दिउली रोकायाका एक मात्र सन्तानका रूपमा जन्मिएका रोकायाले गाउँकै स्थानीय विद्यालयबाट कक्षा ८ सम्मको अध्ययन गरेका छन्। औपचारिक शिक्षालाई धेरै अगाडि बढाउन नसके पनि जीवनका अनुभव र मेहनतलाई उनले आफ्नो सबैभन्दा ठूलो शिक्षा बनाएका छन्।
रोकायाले रोजगारीका लागि आफ्नै गाउँदेखि भारतसम्म पुगेर मजदुरी गरे। भारतमा केही समय मजदुरी गरेपछि भने उनलाई परदेशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँको माटोमा केही गर्नुपर्छ भन्ने सोच आयो। त्यही सोचले उनलाई कृषि कर्मतर्फ डोर्यायो।
सुरुमा घरको सानो करेसाबारीबाट तरकारी खेती सुरु गरेका रोकाया अहिले करिब दुई रोपनी जमिनमा विभिन्न किसिमका तरकारी उत्पादन गरिरहेका छन्। उनले ‘श्री शान्ति कृषि तथा पशुपन्छी फर्म’ स्थापना गरी २०७४ सालमा व्यवसाय दर्ता गरेका थिए। अहिले सोही फर्मअन्तर्गत तीनवटा टनेलमा समेत तरकारी खेती गर्दै आएका छन्।
मौसमी र बेमौसमी दुवै प्रकारका तरकारी उत्पादन गर्दै आएका रोकायाका अनुसार वार्षिक रूपमा डेढ लाख रुपैयाँभन्दा बढीको उत्पादन हुने गरेको छ। श्रीमान्–श्रीमती दुवै मिलेर कृषि कर्ममा निरन्तर मेहनत गर्दा घरपरिवार चलाउन सहयोग पुगेको उनको भनाइ छ।
तर उत्पादन गर्नुभन्दा उत्पादित वस्तु बजारसम्म पुर्याउनु भने उनको लागि अझ ठूलो चुनौती बनेको छ।
“गाउँमा उत्पादन गर्न सकिन्छ, तर बजारसम्म पुर्याउन निकै समस्या छ,” रोकाया भन्छन्।
उत्पादित तरकारी बिक्री गर्न गाउँबाट करिब एक घण्टाको दूरीमा रहेको पिलुचौर बजार पुग्नुपर्छ भने करिब दुई घण्टा लगाएर कोल्टी बजारसम्म पनि तरकारी पुर्याउने गरेका छन्। बिहानै करिब ४ बजे डोकोमा तरकारी बोकेर बजार पुग्दा कहिलेकाहीँ तराई तथा अन्य क्षेत्रबाट आएको तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउँछ। त्यसका कारण स्थानीय उत्पादनले उचित मूल्य नपाउने र कतिपय अवस्थामा बिक्री नभएर तरकारी फाल्नुपर्ने अवस्था आउने गरेको उनी बताउँछन्।
दुई छोरा र एक छोरी हुर्काइसकेका रोकाया तरकारी खेतीमा मात्र सीमित छैनन्। उनले धान, कोदो, लसुन, प्याज, सिमी लगायतका विभिन्न बाली उत्पादन गर्दै आएका छन्। सिमीबाट समेत हरेक वर्ष हजारौँ रुपैयाँ आम्दानी हुने गरेको उनको भनाइ छ। मार्सी धान, फापर र मकै पनि उनले उत्पादन गर्दै आएका छन्।
फलफूल खेतीतर्फ पनि उनको आकर्षण उत्तिकै छ। उनको बारीमा करिब एक सय बोट सुन्तला रहेका छन् भने दुई सयभन्दा बढी ओखरका बोट छन्। कागतीका बोटसमेत लगाएका रोकायाले कृषि उत्पादनलाई विविधीकरण गर्दै लगेका छन्।
रोकायाको बारीमा उत्पादन हुने फलफूल तथा तरकारी विषादीरहित र प्राकृतिक रूपमा उत्पादन गर्ने प्रयास गरिन्छ। गाउँबाहिरका उपभोक्ताले समेत उनको उत्पादनबारे थाहा पाएर माग गर्ने र उचित मूल्य दिने गरेको उनी बताउँछन्। तर स्थानीय बजारमा बाहिरबाट आउने तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्दा कहिलेकाहीँ आफ्नै उत्पादनले बजार नपाउने विडम्बना उनले भोगिरहेका छन्।
“हामीले मेहनत गरेर उत्पादन गर्छौँ। बाहिरबाट मानिसहरूले अर्गानिक र स्थानीय उत्पादन खोजेर माग गर्दा राम्रो मूल्य पनि दिन्छन्। तर बजारमा बाहिरबाट आएको तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्दा कहिलेकाहीँ उत्पादन नै फाल्नुपर्ने अवस्था आउँछ,” रोकाया भन्छन्।
स्थानीय सरकारबाट भने कृषि क्षेत्रमा आफूले राम्रो सुझाव र सल्लाह पाउने गरेको उनी बताउँछन्। गाउँपालिका अध्यक्ष लगायत स्थानीय जनप्रतिनिधि तथा कृषि शाखाबाट प्राप्त सुझाव र कृषि ज्ञान केन्द्रबाट पाएको प्राविधिक सल्लाहले आफूलाई कृषि कर्ममा थप उत्साहित बनाएको उनको भनाइ छ।
तर पर्याप्त सिँचाइको अभाव उनका लागि अझै ठूलो समस्या बनेको छ। नियमित सिँचाइको व्यवस्था हुन नसक्दा तरकारीसँगै सुन्तला, ओखर र अन्य फलफूलका बोटलाई समेत व्यवस्थित रूपमा हुर्काउन कठिन भइरहेको उनी बताउँछन्।
रोकायाको सपना केवल आफ्नो परिवारलाई आत्मनिर्भर बनाउने मात्र होइन। आफ्नै गाउँ, जिल्ला र प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने सपना पनि उनले बोकेका छन्।
उनको विचारमा सरकारले किसानलाई उत्पादनका लागि आवश्यक सिँचाइ, प्रविधि, बीउबिजन, प्राविधिक ज्ञान, भण्डारण तथा बजारको व्यवस्था गर्न सके पहाडी क्षेत्रका किसानले ठूलो मात्रामा कृषि उत्पादन गर्न सक्छन्। किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य सुनिश्चित गर्ने र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने नीति आवश्यक रहेको उनको भनाइ छ।
“सरकारले किसानलाई उत्पादन गर्न प्रोत्साहन गर्ने मात्र होइन, उत्पादित वस्तुको बजारको पनि व्यवस्था गरिदिनुपर्छ। किसानले उत्पादन गरेको तरकारी र फलफूलले बजार नपाएर फाल्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ,” रोकाया भन्छन्।
प्रदेश सरकार, संघीय सरकार र स्थानीय तहले कृषि उत्पादनलाई प्राथमिकता दिँदै सिँचाइ, सडक, कृषि प्रविधि, शीतभण्डार, संकलन केन्द्र र बजार व्यवस्थापनमा प्रभावकारी काम गर्न सके सुदूरपश्चिममा बाहिरबाट तरकारी तथा फलफूल आयात गर्नुपर्ने अवस्था धेरै हदसम्म अन्त्य गर्न सकिने उनको विश्वास छ।
डोको बोकेर बजारसम्म पुग्ने बिर्खबहादुरको यात्रा केवल एउटा किसानको कथा होइन, यो आफ्नै माटोमा सम्भावना खोज्ने र श्रमलाई उत्पादनमा बदल्ने आत्मनिर्भरताको कथा हो। सरकारको उचित साथ, बजारको सुनिश्चितता र किसानको मेहनत एक ठाउँमा जोडिन सके सुदूरपश्चिमको पहाडी माटोले पनि तरकारी, फलफूल र खाद्यान्नमा प्रदेशलाई आत्मनिर्भर बनाउन सक्ने उनको जीवन्त उदाहरणले देखाएको छ।
© 2026 Samriddha Sudurpashchim. All Rights Reserved.
developed by Futurelink Technologies Pvt. Ltd