किसानको पसिनाले उर्वर बन्दैछ माटो : दानबहादुर रोकायाको कृषि यात्राले दिएको प्रेरणा

किसानको पसिनाले उर्वर बन्दैछ माटो : दानबहादुर रोकायाको कृषि यात्राले दिएको प्रेरणा


बाजुरा — आफ्नै माटोमा मेहनत गर्ने हो भने गाउँमै बसेर पनि सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् बाजुराको खप्तड छेडेदह गाउँपालिका–१, काँडा निवासी दानबहादुर रोकाया। सरकारी जागिरदेखि शिक्षण पेसासम्मको यात्रा पूरा गरेका रोकाया अहिले भने व्यावसायिक कृषि कर्ममा रमाइरहेका छन्।
वि.सं. २०२४ साल भदौ २४ गते जन्मिएका रोकाया बुवा चुन्ते रोकाया र आमा जङ्गवती रोकायाका पाँच भाइ छोरामध्ये माइला हुन्। सानैदेखि मेहनती, अनुशासित र आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच राख्ने रोकायाले आफ्नो जीवनमा विभिन्न पेसाको अनुभवसमेत बटुलेका छन्।
प्लस टु अध्ययन पूरा गरेपछि उनले वि.सं. २०४६ सालतिर गाउँ पञ्चायतमा सचिवको जिम्मेवारी सम्हाले। देशमा बहुदलीय व्यवस्था आएपछि भने सरकारी जागिर छाडेर स्थानीय विद्यालयमा अध्यापन गर्न थाले। आफ्नै गाउँको विद्यालयमा करिब १० वर्षसम्म शिक्षण पेसामा बिताएका उनले त्यसपछि शिक्षणबाट अवकाश लिएर कृषि क्षेत्रमा केही गर्ने अठोट गरे।


करेसाबारीबाट सुरु भएको कृषि यात्रा
रोकायाको कृषि यात्रा ठूलो लगानीबाट होइन, सानो करेसाबारीबाट सुरु भएको हो। आफ्नै जमिनमा उत्पादन गर्न सकिन्छ, आफ्नै परिवारलाई स्वस्थ खाद्यान्न खुवाउन सकिन्छ र अतिरिक्त उत्पादनलाई बजारमा बिक्री गरेर आम्दानी गर्न सकिन्छ भन्ने सोचले उनलाई व्यावसायिक कृषितर्फ डोर्‍यायो।
हाल उनी आलु, बन्दा, काउली, भान्टा, लौका, काँक्रा, सिमी लगायतका मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरिरहेका छन्। उनको कृषि फार्ममा अहिले चारवटा कृषि टनेल समेत रहेका छन्। करिव एकदक सम्म कृषिमा रमाउदा सबैको प्रेणाबाट ईन्द्रेणि वहुउदस्य कृषि पशुपन्छि तथा मछ्यपालन फर्म सन्चालनमा ल्याएका छन ।
हिउँदे बाली तथा हिउँदे तरकारीबाट मात्र वार्षिक रूपमा करिब चारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी हुने रोकाया बताउँछन्। 
उनका लागि कृषि केवल आम्दानीको माध्यम मात्र होइन, आफ्नै माटोमा सम्भावना खोज्ने अभियान पनि हो।


सडक पुगेपछि बजारको पहुँच सहज, बर्खामा भने चुनौती ।
रोकायाले उत्पादन गरेको तरकारीको प्रमुख बजार साफेबगर हो। हिउँदको समयमा सडक तथा यातायातको अवस्था तुलनात्मक रूपमा सहज हुने भएकाले गाउँबाट साफेबगरसम्म करिब चार घण्टाको यात्रापछि पनि बजारमा उत्पादन पुर्‍याउन सकिने उनी बताउँछन्।
“हिउँदमा सडक राम्रो हुने भएकाले उत्पादन बजारसम्म पुर्‍याउन सहज हुन्छ। त्यसैले तरकारी बिक्री गर्न पनि सजिलो हुन्छ,” रोकाया भन्छन्।
तर बर्खायाममा भने उनको कृषि व्यवसायले फरक चुनौती सामना गर्नुपर्छ। वर्षातका कारण सडक तथा यातायात अवरुद्ध हुँदा उत्पादन बजारसम्म पुर्‍याउन नसक्दा गाउँमै तरकारी खेर जाने अवस्था आउने गरेको उनको अनुभव छ।
“बर्खे तरकारीको उत्पादन राम्रो भए पनि सडकको समस्या हुँदा बजारसम्म पुर्‍याउन सकिँदैन। त्यसैले बर्खामा डेढ लाख रुपैयाँजति मात्र बचत गर्न सकिन्छ,” उनी बताउँछन्।
कृषिमा उत्पादन बढाउनुभन्दा पनि उत्पादनलाई बजारसम्म पुर्‍याउने भरपर्दो सडक र बजार प्रणाली आवश्यक रहेको उनको अनुभवले देखाउँछ।
कृषि कर्ममा श्रम र लगानी दुवै आवश्यक
व्यावसायिक कृषि सहज काम नभएको रोकायाको अनुभव छ। बाली लगाउनेदेखि गोडमेल, स्याहार, टिपाइ र बजार पठाउनेसम्म निरन्तर श्रम आवश्यक हुन्छ।
विशेषगरी बाली लगाउने र उत्पादन उठाउने समयमा स्थानीय श्रमिकलाई दैनिक ज्यालामा काममा लगाउनुपर्ने अवस्था रहेको उनी बताउँछन्। यसले कृषि उत्पादनको लागतसमेत बढाउने गरेको छ।

वजारकोलागि तयारीमा टमाटर 
तर चुनौतीका बाबजुद कृषि कर्मबाट प्राप्त सन्तुष्टि र आफ्नै माटोमा उत्पादन गरेको गर्वले आफूलाई निरन्तर अगाडि बढ्न प्रेरित गरिरहेको रोकाया बताउँछन्।
तरकारीसँगै फलफूल खेतीमा पनि विस्तार
तरकारी खेतीमा मात्र सीमित नरहेका रोकायाले फलफूल खेतीलाई पनि आफ्नो कृषि व्यवसायको अर्को आधार बनाएका छन्।
उनले किबी खेती सुरु गरेका छन्। हाल करिब ३० वटा किबीका बोटले उत्पादन दिइरहेका छन् भने थप ३२ वटा बिरुवा रोपिसकेका छन्।
त्यस्तै, ओखर खेतीतर्फ पनि उनको आकर्षण बढेको छ। हाल करिब ७५ वटा ओखरका बोटले उत्पादन दिइरहेका छन् भने थप ६० वटा बिरुवा रोप्ने तयारी भइरहेको छ।
यसरी तरकारीसँगै फलफूल खेतीलाई विस्तार गर्दै रोकाया आफ्नो कृषि व्यवसायलाई दीर्घकालीन र उत्पादनमुखी बनाउने योजनामा छन्।
स्थानीय सरकार र कृषि ज्ञान केन्द्रको सहयोगले हौसला
रोकायाको कृषि यात्रामा स्थानीय तह तथा कृषि क्षेत्रसँग सम्बन्धित निकायको सहयोगले थप ऊर्जा दिएको छ।
खप्तड छेडेदह गाउँपालिकाको कृषि शाखा तथा गाउँपालिकाबाट प्राप्त सहयोग, हौसला र प्रोत्साहनका साथै कृषि ज्ञान केन्द्र, बाजुराबाट प्राप्त तालिम, प्राविधिक सहयोग, अनुगमन तथा उत्पादनसँग सम्बन्धित कार्यक्रमले आफ्नो कृषि कर्मलाई अझ व्यवस्थित बनाउन सहयोग पुगेको उनी बताउँछन्।
उत्पादन, प्याकिङ, ढुवानी तथा बजार व्यवस्थापनमा सरकारी निकायको सहयोग र प्रोत्साहन बढ्दै जाने हो भने गाउँमा कृषि व्यवसायको ठूलो सम्भावना रहेको उनको विश्वास छ।
स्थानीय जनप्रतिनिधि तथा गाउँपालिका अध्यक्षलगायतबाट प्राप्त हौसला र “गाउँमै बसेर केही गर्न सकिन्छ” भन्ने विश्वासले आफूलाई थप मेहनत गर्न प्रेरित गरेको रोकाया बताउँछन्।
“आफ्नै माटोमा उत्पादन गरेर देश समृद्ध बनाउनुपर्छ”
दानबहादुर रोकायाको कृषि यात्रा एउटा किसानको व्यक्तिगत सफलताको कथा मात्र होइन। यो गाउँमा रहेको सम्भावना, किसानको श्रम र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न सकिन्छ भन्ने सन्देश पनि हो।
उनी आफ्नै माटोलाई उर्वर बनाउने, आफ्नै देशमा स्वस्थ र विषादीरहित तरकारी तथा फलफूल उत्पादन गर्ने र कृषि उत्पादनबाट मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउने लक्ष्यका साथ अघि बढिरहेका छन्।
“आफ्नै माटोलाई उर्वर बनाउने, आफ्नै देशमा स्वस्थ तरकारी र फलफूल उत्पादन गर्ने हो। हामीजस्ता किसानले उत्पादन बढाउन सके मात्रै देश समृद्ध बन्न सक्छ,” रोकायाको भनाइ छ।
दानबहादुर रोकायाको कथा यस अर्थमा प्रेरणादायी छ—जागिरबाट अवकाश लिएपछि जीवन रोकिँदैन; आफ्नै माटोमा पसिना बगाउने हो भने नयाँ सम्भावनाको यात्रा त्यहीँबाट सुरु हुन्छ।
कृषिलाई सम्मानित पेसा, युवालाई रोजगारीको आधार र गाउँलाई उत्पादनको केन्द्र बनाउने हो भने दानबहादुरजस्ता किसानको मेहनतलाई बजार, प्रविधि, सडक, भण्डारण र राज्यको नीतिगत सहयोगसँग जोड्न आवश्यक छ।
किसानको पसिना केवल खेतमा खस्दैन, त्यसले परिवारको भविष्य, गाउँको अर्थतन्त्र र देशको समृद्धिको आधार पनि निर्माण गर्छ। 

 

Vip
1058 0

0 Comments

Leave a comment

सम्पर्कमा रहनुहोस्

Follow Us
फ्लिकर फोटोहरू

© 2026 Samriddha Sudurpashchim. All Rights Reserved. developed by Futurelink Technologies Pvt. Ltd