युवा शक्ति, आईटी र साइबर सुरक्षाबाट समृद्ध सुदूरपश्चिमको आधार
आजको विश्व डिजिटल प्रविधिमा आधारित भएर अघि बढिरहेको छ। सूचना प्रविधि (आईटी), साइबर सेकुरेटी र डाटा साईन्स अब केवल पढाइका विषय मात्र होइनन्, यी भविष्य निर्माण गर्ने मुख्य साधन बनेका छन्। सुदूरपश्चिम जस्तो सम्भावनायुक्त प्रदेशलाई समृद्ध बनाउन युवाहरूलाई यी क्षेत्रमा दक्ष बनाउनु अत्यन्त आवश्यक छ।
आईटी क्षेत्रले रोजगारी, उद्यमशीलता र नवप्रवर्तनका नयाँ ढोका खोल्न सक्छ। घरमै बसेर विश्व बजारमा काम गर्न सकिने भएकाले सुदूरपश्चिमका युवाहरूलाई विदेश पलायन होइन, आफ्नै ठाउँमा अवसर सिर्जना गर्ने सम्भावना बढेको छ। सफ्टवेयर विकास, ग्राफिक्स डिजाइन, डिजिटल मार्केटिङ, क्लाउड कम्प्युटिङ जस्ता क्षेत्रमा हजारौं युवाले भविष्य बनाउन सक्छन्।
त्यसैगरी, बढ्दो डिजिटल प्रयोगसँगै साइबर अपराध पनि चुनौती बनेको छ। बैंकिङ, सरकारी सेवा, व्यापार तथा व्यक्तिगत सूचना सुरक्षित राख्न साइबर सेकुरेटी अत्यन्त महत्वपूर्ण बनेको छ। यदि सुदूरपश्चिममा साइबर सुरक्षा सम्बन्धी तालिम, अनुसन्धान र जनचेतना विस्तार गर्न सकियो भने यहाँ दक्ष जनशक्ति उत्पादन हुनुका साथै नयाँ रोजगारीका अवसर पनि सिर्जना हुनेछन्।
डाटा साईन्सले कृषि, पर्यटन, व्यापार, स्वास्थ्य र शिक्षामा नयाँ सम्भावना ल्याउन सक्छ। सही तथ्यांक र विश्लेषणको प्रयोगले नीति निर्माणदेखि व्यवसायिक निर्णयसम्म प्रभावकारी बनाउन मद्दत गर्छ। सुदूरपश्चिमका स्थानीय उत्पादन, पर्यटन क्षेत्र र कृषि सम्भावनालाई विश्व बजारसँग जोड्न डाटा साईन्स महत्वपूर्ण आधार बन्न सक्छ।
अब आवश्यक छ — प्रविधिमैत्री शिक्षा, सीप विकास केन्द्र, डिजिटल पूर्वाधार र युवालाई प्रोत्साहन गर्ने नीति। आईटी, साइबर सेकुरेटी र डाटा साईन्सलाई जोडेर अघि बढ्न सके सुदूरपश्चिम केवल अवसर खोज्ने प्रदेश होइन, अवसर सिर्जना गर्ने प्रदेश बन्न सक्छ।
विश्व तीव्र गतिमा डिजिटल युगतर्फ अघि बढिरहेको छ। सूचना प्रविधि अथार्त आईटी क्षेत्र केवल एउटा व्यवसायिक क्षेत्र मात्र होइन, राष्ट्रको आर्थिक विकास, रोजगारी सिर्जना, नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मुख्य आधार बनिसकेको छ। विश्वका धेरै राष्ट्रहरूले आईटीको विकास लाई आर्थिक समृद्धिको इन्जिनका रूपमा प्रयोग गरिरहेका छन्।
दक्षिण एसियाली धेरै मुलुकहरू विश्वको सूचना प्रविधि बजारमा आफ्नो प्रभाव विस्तार गरिरहेका बेला नेपाल पनि अब यस दिशामा गम्भीर रुपमा अघि बढ्नुपर्ने मोडमा पुगेको छ।
नेपालसँग आईटी क्षेत्रमा ठूलो सम्भावना पनि छ। युवा जनशक्ति, कम लागतमा दक्ष मानव स्रोत उत्पादन गर्ने क्षमता, बढ्दो इन्टरनेट पहुँच, प्रविधिप्रति युवाको आकर्षण र रणनीतिक भौगोलिक अवस्थाले नेपाललाई आईटी क्षेत्रमा अगाडि बढ्ने आधार प्रदान गरेको छ। यदि सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरुबीच दीर्घकालीन सोचसहित प्रभावकारी सहकार्य हुन सकेमा आगामी ५ देखि १० वर्षभित्र नेपाल दक्षिण एसियाकै उदाउँदो आईटी हवको रुपमा विकास हुन सक्छ ।
नेपाललाई आईटी हब बनाउने पहिलो आधार भनेको स्थिर नीति र विश्वासिलो कर प्रणाली नै हो। सरकारले संघीय संसदमा भर्खरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यद्यपी अझै आईटीको विकासका लागि नीतिगत रुपमै प्रभावकारी व्यवस्था र रणनीतिक कार्ययोजना पुर्णरुपमा बन्न सकेको छैन । आगामी जेठ १५ मा आउने बजेटबाट आईटीको विकासका लागि बजेटमै व्यवस्था होस भन्ने चाहना निजी क्षेत्रको छ ।
लगानीकर्ता तथा उद्यमीहरूलाई बारम्बार परिवर्तन हुने नीति, झन्झटिलो प्रशासनिक प्रक्रिया र अस्पष्ट कर व्यवस्थाले निरुत्साहित बनाउने गरेको छ । आईटी क्षेत्र अत्यन्त गतिशील भएकाले यसलाई प्रोत्साहन गर्ने स्पष्ट र दीर्घकालीन रणनीति आवश्यक छ। सरकारले आईटी उद्योगलाई प्राथमिकतामा राखेर लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ।
त्यसैगरी, उच्च गतिको इन्टरनेट, भरपर्दो विद्युत् आपूर्ति, सुरक्षित डेटा पूर्वाधार र आधुनिक डिजिटल संरचना सूचना प्रविधि विकासका आधारभूत आवश्यकता हुन्। विश्व बजारसँग प्रतिस्पर्धा गर्न नेपालले केवल सस्तो श्रममा निर्भर भएर होइन, दक्ष जनशक्ति र गुणस्तरीय सेवामार्फत आफ्नो पहिचान स्थापित गर्नुपर्छ। डिजिटल पूर्वाधार मजबुत नभएसम्म ठूलो आईटी उद्योग निर्माण सम्भव हुँदैन।
नेपालले सफ्टवेयरको विकास, आउटसोर्सिङ, आर्टिफिसिएल इन्टेलिजेन्स एआई, डेटा एनालाईसिस, साईबर सेक्युरिटी, क्लाउड सर्भिसलगायतका क्षेत्रमा काम गनुपर्छ ।
अहिले विश्वभरका कम्पनीहरु कम लागतमा गुणस्तरीय आईटी सेवा खोजिरहेका छन्। सूचना प्रविधि क्षेत्रमा नेपालका हजारौं युवा स्वतन्त्र रुपमा अहिले नै सफ्टवेयर विकास तथा आउटसोर्सिङका रुपमा कार्यरत रहेका छन । तर उनीहरूको क्षमता राष्ट्रिय अर्थतन्त्रसँग व्यवस्थित रूपमा जोडिन सकेको छैन। यदि सरकारले नेपाललाई आइटी क्षेत्रको विकासका लागि ब्राण्डिङ मार्फत सुरक्षा प्रत्याभूति सहित अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न सके विदेशी कम्पनीहरुको आकर्षण नेपालतर्फ बढ्न सक्छ।
नेपालले अहिले सामना गरिरहेको ठूलो चुनौतीमध्ये एक हो । दक्ष जनशक्तिको विदेश पलायन। हरेक वर्ष हजारौं प्रतिभाशाली युवा अवसरको खोजीमा विदेश गइरहेका छन्। यसको प्रमुख कारण नेपालमा पर्याप्त अवसरको अभाव, कम तलब, अस्थिर भविष्य र सीमित करियर सम्भावना नै हो।
यदि नेपालले प्रतिस्पर्धात्मक पारिश्रमिक, दुर्गम क्षेत्रमा पनि कामको अवसर, उद्यमशिलताको संस्कृति, स्वामित्वमा आधारित प्रोत्साहन जस्ता व्यवस्था विकास गर्न सक्यो भने धेरै युवा देशमै बसेर अन्तर्राष्ट्रिय कम्पनीका लागि काम गर्न इच्छुक हुनेछन्। आफु अनुकुल स्थानमै बसेर काम गर्ने संस्कृति विश्वभर तीव्र रूपमा विस्तार भइरहेको छ, जसले नेपालका युवालाई देशमै बसेर विश्व बजारसँग जोडिने अवसर दिन सक्छ।
नवप्रवद्धन पर्यबरणीय प्रणालीको विकास सूचना प्रविधि क्षेत्रको अर्को महत्वपूर्ण पक्ष हो। नेपालमा सिर्जनशील र ऊर्जावान युवा प्रशस्त छन्, तर पूँजी, उपयुक्त मार्गदर्शन र नेटवर्किङको अभावले धेरै सम्भावनाहरू अधुरा रहने गरेका छन्।
विउ पूँजिको उपलव्धता, नवप्रर्वतनमा लगानी, व्यवसायीक विकास कार्यक्रमको पहुँच विस्तार गर्न सके नयाँ प्रविधि कम्पनीहरू जन्मिन सक्छन। कम्पनी दर्ता प्रक्रिया सरल बनाउने, कर छुट दिने र नवप्रवर्तन मैत्री नियमन लागू गर्ने नीति आवश्यक छ। एउटा सफल स्टार्टअपले केवल व्यापारिक सफलता मात्र होइन, नयाँ रोजगारी, नयाँ प्रविधि र नयाँ आर्थिक सम्भावना पनि सिर्जना गर्छ।
सूचना प्रविधि क्षेत्रमा ठूलो छलाङ मार्न शिक्षा प्रणाली सुधार अपरिहार्य छ। अहिले पनि धेरै शैक्षिक संस्थाको पढाइ बजारको आवश्यकतासँग मेल खाँदैन। उद्योग र उद्यमशिलता विकास पाठ्यक्रम, प्रयोगात्मक सिकाई, परिक्षणकालिन कार्यअनुभव, योजनामा आधारित शिक्षामा जोड दिन आवश्यक छ।
विद्यालय तहदेखि नै एआई कोर्स, कोडिङ, रोबर्टिक्स, साईबर सुरक्षा जस्ता विषयमा व्यवहारिक अनुभूती गराउन सकियो भने भविष्यका दक्ष आईटी जनशक्ति उत्पादन गर्न सकिन्छ। आजको युगमा डिग्रीभन्दा सीपको मूल्य बढ्दो छ, त्यसैले सीप केन्द्रित शिक्षा नै समयको आवश्यकता हो।
सरकार र निजी क्षेत्रबीचको सहकार्य पनि सूचना प्रविधि क्षेत्रको विकासका लागि अत्यन्त महत्वपूर्ण छ । सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमार्फत ठूला आईटी परियोजनाहरू सञ्चालन गर्न सकिन्छ। नीति निर्माण प्रक्रियामा सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका उद्यमी, तथा आईटी डेभलपर तथा उद्योगीहरूको सहभागिता सुनिश्चित गर्नुपर्छ।
उनीहरूको व्यावहारिक अनुभवलाई नीतिमा समावेश गर्न सके निर्णयहरू अझ प्रभावकारी बन्न सक्छन्। नियमित संवाद र संयुक्त संयन्त्रले सरकार र उद्योगबीचको दूरी कम गर्न सहयोग पुर्याउँछ।
डाटा सेन्टरको विकास नेपालका लागि रणनीतिक आवश्यकता बनिसकेको छ। देशको डेटा देशभित्रै सुरक्षित राख्ने क्षमता राष्ट्रिय सुरक्षासँग समेत सम्बन्धित विषय पनि हो। आधुनिक डाटा सेन्टर निर्माण गर्न सकियो भने क्लाउड सेवा विस्तार हुन्छ, विदेशी कम्पनी आकर्षित गर्न सकिन्छ र डिजिटल अर्थतन्त्र अझ सुरक्षित बन्छ। विश्व अहिले डेटा–आधारित अर्थतन्त्रतर्फ अघि बढिरहेको अवस्थामा डेटा पूर्वाधारलाई प्राथमिकता दिनु आवश्यक छ।
नेपालको सूचना प्रविधिको विकास काठमाडौं वा सीमित शहरी क्षेत्रमा मात्र केन्द्रित हुनु हुँदैन। ग्रामिण नेपालमा ब्रोडव्याण्ड पूर्वाधार विकास, दुर्गममा पनि इन्टरनेटको व्यवस्था र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न सके ग्रामीण क्षेत्रका युवाले पनि आइटी क्षेत्रबाट आयआर्जन गर्न सक्छन्। यसले गाउँबाट शहरतर्फको पलायन कम गर्नुका साथै समावेशी आर्थिक विकासलाई बल पुर्याउँछ।
साईबर सुरक्षा अहिलेको डिजिटल युगको सबैभन्दा संवेदनशील विषयमध्ये एक हो। नेपालको डिजिटल प्रणाली विस्तार हुँदै जाँदा साइबर आक्रमण, डेटा चोरी र वित्तीय ठगीको जोखिम पनि बढ्दै जान्छ। त्यसैले सुरक्षित डिजिटल वातावरण निर्माण गर्न साईबर सुरक्षालाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ। सुरक्षित प्रणालीले विदेशी लगानीकर्ताको विश्वास बढाउनुका साथै नागरिकको डेटा संरक्षण सुनिश्चित गर्छ।
नेपालले आईटी सेवाको निर्यात वृद्धि गर्न निर्यात अनुदान तथा राहत, अन्तराष्ट्रिय सर्टिफिकेसनका लागि सहिजकरण जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्छ।
महिलाको सहभागिता बिना आईटी क्षेत्रको विकास पूर्ण हुन सक्दैन। आईटी अध्ययनका लागि छत्रवृत्ति, समावेशी नीति, कार्यस्थलमा सहजीकरण मार्फत महिलालाई प्रविधि क्षेत्रमा प्रोत्साहन गर्न आवश्यक छ।
आज विश्वलाई नेपालले दिनुपर्ने सन्देश स्पष्ट हुनुपर्छ, हाम्रोमा दक्ष जनशक्ति र लागत कम छ ।
भारत र चीनबीचको रणनीतिक स्थान, ऊर्जावान युवा जनशक्ति र विस्तार हुँदै गएको डिजिटल भअयकथकतझ नेपालका सबैभन्दा ठूलो शक्ति हुन्। यदि नीति, पूर्वाधार, शिक्षा र लगानीलाई सही दिशामा अगाडि बढाउन सकियो भने आगामी ५ देखि १० वर्षभित्र नेपाल आईटी सेवा उपभोक्ता मात्र होइन, दक्षिण एसियाको उदाँउदो आईटी हव तथा अर्बो डलर बराबरको आईटी सेवा निर्यात गर्ने राष्ट्र बन्न सक्छ। यो सपना चुनौतीपूर्ण अवश्य छ, तर असम्भव भने होइन।
श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका आईटी तथा सफ्टवेर निर्यात समिति सभापति हुन् ।
© 2026 Samriddha Sudurpashchim. All Rights Reserved.
developed by Futurelink Technologies Pvt. Ltd