गौराको खलोमा हराएको त्यो बाल्यकाल

गौराको खलोमा हराएको त्यो बाल्यकाल

 

बिरूडादेखि बिदाइसम्म : शिक्षक तथा साहित्यकार जगदीश ओझाको स्मृतिका पानाबाट

महेन्द्रनगर, कञ्चनपुर — गौरा पर्व धेरैका लागि धार्मिक तथा सांस्कृतिक उत्सव होला, तर शिक्षक तथा साहित्यकार जगदीश ओझाका लागि यो बाल्यकालसँग जोडिएको एउटा जीवन्त स्मृतियात्रा हो। बिरूडापञ्चमीदेखि गौरा विसर्जनसम्मका करिब दुई साताका ती दिन उनका स्मृतिमा आज पनि गाउँको खलो, दमाउ–भोक्कर, डेउडाको लय, आमाहरूका गीत र बालमनको निष्कलुष खुसीसँगै जीवित छन्।

समयले धेरै कुरा बदलिसकेको छ। गाउँ फेरिएका छन्, पुस्ता फेरिएको छ, मनोरञ्जनका माध्यम फेरिएका छन्। तर ओझाको मनमा भने गौरा अझै त्यही पुरानो खलोमा नाचिरहेको छ, जहाँ पाँच–दस रुपैयाँ हातमा लिएर बालबालिकाहरू मेलाको संसारमा आफ्नै किसिमको अर्थशास्त्र चलाउँथे।

“गौरा मेरा लागि केवल एउटा पर्व होइन, बाल्यकालको एउटा जीवन्त अध्याय हो,” ओझाको संस्मरणमा उल्लेख छ।

बिरूडासँगै सुरु हुन्थ्यो गौराको प्रतीक्षा

ओझाका बाल्यकालका दिनमा गौराको सुरुवात बिरूडापञ्चमीबाट हुन्थ्यो। अहिलेझैँ घरघरमा बिरूडा भिजाउनेभन्दा इष्टकुल देवताको मन्दिरमा बिरूडा पुर्‍याएर सामूहिक पूजाआजा गर्ने परम्परा थियो।

ओझागाउँमा हुने उक्त पूजामा मुख्यानी काखी र धम्यानी आमाको भूमिका विशेष रहने गरेको उनी सम्झन्छन्। महिलाहरूको व्यस्तता, पूजाको तयारी र मन्दिर वरपरको चहलपहलले बालबालिकालाई भने एउटै सन्देश दिन्थ्यो—गौरा सुरु भयो।

गौराको नाम सुन्नासाथ बालमनमा छुट्टै उत्साह पलाउँथ्यो।

 

सप्तमीको फाग, सगुन र आमाहरूका स्वर

सप्तमीका दिन तल्लो ओझागाउँको मन्दिर तथा मल्ला ओझागाउँको खलामा सामूहिक पूजा हुन्थ्यो। ओझा परिवारकै पुजारी हुने भएकाले सुतेगाडी भट्ट परिवारका कुणी–रिङा वा बसेडीभ्वाँमा बस्ने पुजारीहरू पूजाका लागि आउने गरेको उनी स्मरण गर्छन्।

रातिखालीमा रहेको घरबाट मन्दिर टाढा पर्ने भएकाले धेरैजसो सामूहिक पूजा घरमै हुने गर्थ्यो। पोखरी, हडेली तथा आसपासका परिवार र यजमान भट्ट परिवारका आमा, बज्यै र काखीहरू भेला हुन्थे।

पूजा सकिएपछि सुरु हुन्थ्यो—फाग र सगुन।

फलफूल, दूध, छाँच र विभिन्न परिकार बाँडेर खाइन्थ्यो। ओझाका अनुसार उनकी इजाको स्वरमा मिसिएको फागको लयले वातावरणलाई नै विशेष बनाउँथ्यो।

बालबालिकाका लागि त्यो रात कति लामो हुन्थ्यो, समयको कुनै हिसाब हुँदैनथ्यो। गीत, पूजा, खानेकुरा र आफन्तको भीडमै बालसंसार अडिएको हुन्थ्यो।

अष्टमी : नयाँ लुगा र गौराको खलोको हतारो

अष्टमी नजिकिँदै गर्दा घरमा गौराका लागि आवश्यक घाँसपातको तयारी हुन्थ्यो। बिहानै नुहाइधुवाइ र घरायसी काम सकेपछि बालबालिकाको ध्यान भने एउटै कुरामा हुन्थ्यो—गौरा जाने।

त्यसभन्दा पहिला अर्को महत्वपूर्ण प्रतीक्षा हुन्थ्यो—नयाँ लुगा कहिले लगाउन पाइन्छ?

नयाँ कपडा लगाएर गौराको खलोमा पुग्ने उत्साह, साथीभाइ भेट्ने उमंग र गाउँभरि फैलिएको चहलपहलले अष्टमीको दिन विशेष बन्थ्यो।

आफ्नो गाउँको खलाबाट मल्ला गाउँ, त्यसपछि पचकोराको मणिलेक मन्दिरतर्फको यात्रा बाल्यकालको अर्को आकर्षण थियो।

मणिलेकको ठूलो चौरमा नजिकका गाउँबाट मानिसहरूको भीड लाग्थ्यो। पसलहरू सजिन्थे। बालबालिकाको हातमा भने बढीमा पाँच, कहिलेकाहीँ दस रुपैयाँ हुन्थ्यो।

त्यही पैसाले खानेकुरा पनि किन्नु थियो, खेल पनि खेल्नु थियो र सके केही पैसा बचाएर घर पनि फर्किनु थियो।

आज फर्केर हेर्दा ओझालाई लाग्छ—त्यो पाँच–दस रुपैयाँको मूल्यभन्दा ठूलो त्यसले दिएको खुसी थियो।

गौरा फर्कन्थी, तर रमाइलो सकिँदैनथ्यो

मणिलेकको गौरा नसकिँदै बालबालिकाहरू फेरि आफ्नै गाउँतिर फर्किन्थे। मल्लागाउँको खलामा अठेवाली सकेर तल्लागाउँको शिवमन्दिरमा हुने गौरामा सहभागी हुनु अर्को अनिवार्यजस्तै हुन्थ्यो।

महिलाहरू आलोपालो गौरा बोकेर हिँड्थे। बाटोभरि गौराका गीत गुञ्जिन्थे। पछिपछि बालबालिकाहरूको लर्को हुन्थ्यो।

मन्दिर नजिक पुग्दा दमाउ र भोक्कर बजाएर ओल्किने चलन थियो। बालबालिकाबीच भोक्कर बजाउनै खोसाखोस हुन्थ्यो।

ओझाको स्मृतिमा त्यो भोक्कर केवल बाजा थिएन—गौराको आगमनको उद्घोष थियो।

 

गौरा नाच्दा गाउँ जाग्थ्यो

मन्दिरको तल्लो खलामा गौरा राखिन्थे। अठेवाली सकिएपछि गौरालाई नचाइन्थ्यो।

“हल्लोरी, बाला, कल्लोरी...” जस्ता गौराका गीतको लयसँगै गोरियाहरूले पालैपालो गौरा, महेश्वर र बालो नचाउँथे।

त्यो दृश्यमा भक्ति पनि थियो, उत्सव पनि।

त्यसपछि माथिल्लो ठूलो खलामा पुरुषहरूको पालो आउँथ्यो। ठाडोखेल, भगालिङ्ग र डेउडा सुरु हुन्थे। खला भरिन्थ्यो। गीत, प्रश्नोत्तर र लयसँगै रात गहिरिँदै जान्थ्यो।

कहिलेकाहीँ गौरा नचाउने क्रममा कुनै महिला भावावेशमा काम्ने गरेको दृश्य पनि देखिन्थ्यो। तत्कालीन समाजले त्यसलाई आस्थाको एउटा स्वरूपका रूपमा ग्रहण गर्ने गरेको ओझा सम्झन्छन्।

धुनीको तापमा आस्था र विश्वास

गौरा नचाइसकेपछि वातावरण अझ गम्भीर र श्रद्धामय बन्थ्यो।

गौराको फल फट्काएपछि खलाको किनारमा सबैजना बस्ने र बीचमा धुनी बाल्ने चलन थियो। गुर्ज तताइन्थ्यो। पश्चिमबाट पूर्वतर्फ फर्केर शिव, छडी र बेताल देवताका धामीहरू आ–आफ्नो आसनमा बस्ने गर्थे।

अगाडि बिरूडा र चामल राखिन्थ्यो। मानिसहरूले आफ्ना सुख–दुःख, पीडा र मनोकामना धामीसमक्ष बिन्तीका रूपमा राख्थे।

ओझाको संस्मरणमा मुख्य काका वीरपल ओझा काम्दै गुर्ज लिएर खलामा घुम्ने, देवीदेवता ज्वार्ने र उपस्थित मानिसलाई आशीर्वाद दिने दृश्य विशेष रूपमा अंकित छ।

बाल्यकालमा त्यसको धार्मिक तथा सांस्कृतिक गहिराइ बुझ्ने अवस्था थिएन। तर धुनीको ताप, धामीहरूको आस्था र खलाको श्रद्धामय वातावरणले बालमनमा छोडेको प्रभाव भने आजसम्म मेटिएको छैन।

बिदाइ पनि आफैँमा एउटा संस्कार

बिन्ती सकिएपछि बुढापाका महिलाहरूले धामी, पण्णा र सयनाहरूको बिरूडाले मुण्डो पूजा गर्थे। त्यसपछि गौराको खलाबाट बिदावादी हुन्थ्यो।

गाउँको परम्पराअनुसार त्यही दिन गौरा विसर्जन गरिन्थी। चेलीबेटी र बालबालिकाहरू गौरा सेलाउन जान्थे। बुढापाकाहरू पूजा गर्दै बिदाइका गीत गाउँथे।

गौरा बिदा हुन्थी, तर बालमनमा भने अर्को वर्षको गौराको प्रतीक्षा त्यही दिनदेखि सुरु भइसकेको हुन्थ्यो।

घर फर्किएपछि पनि गौरा सकिँदैनथी

गौरा खलामा सकिए पनि घरमा त्यसको संस्कार जारी रहन्थ्यो।

घर पुगेपछि धूपबत्ती गर्ने, इजा, काकी तथा भाउजूहरूले ज्येष्ठताक्रमअनुसार मुण्डो पूजा गर्ने चलन थियो। घरबाहिर वा टाढा रहेका आफन्तका लागि समेत मन्त्र गरेर राख्ने वा पठाउने गरिन्थ्यो।

यसरी गौरा मन्दिर र खलामा मात्र सीमित रहँदैनथी। त्यो घर, परिवार, सम्बन्ध, सम्झना र आस्थामा प्रवेश गर्थी।

एउटा गाउँको होइन, गाउँगाउँको उत्सव

ओझाको बाल्यकालमा गौरा एउटा गाउँमा मात्र सीमित थिएन।

अष्टमीका दिन गाँजरी पुग्न नसके पनि गौरा सेलाउने दिन त्यहाँको ठूलो मेलामा सहभागी हुने चलन थियो। महिला र पुरुषका डेउडाले गाउँलाई उत्सवमय बनाउँथे।

त्यसपछि हतरङ्गाको गौरा सेलाउने दिन पनि रमाइलोमा सहभागी हुने क्रम चल्थ्यो। अन्तिमतिर मेलौलीको गौरा सेलाइन्थ्यो। देही क्षेत्रका विभिन्न गाउँका गौरा मेलौली मन्दिरमा ल्याइन्थे।

त्यहाँको खेलमालपछि गौरा सेलाइन्थी।

देहीको गौरा सेलाउने मेला भने अझ विशेष थियो। त्यहाँ ‘लख्या’ अर्थात् लाखे नाच ठूलो आकर्षणका रूपमा रहने गरेको ओझा स्मरण गर्छन्।

यसरी ओझागाउँ, पचकोरा, गाँजरी, हतरङ्गा, देही, काणालगायतका गाउँका गौराले बालमनलाई करिब दुई सातासम्म उत्सवको लामो यात्रामा डोर्‍याउँथे।

त्यसैले उनका लागि गौरा पर्वभन्दा बढी एउटा महोत्सव थियो।

पाँच रुपैयाँको त्यो ठूलो संसार

गौरा आउँदा घरमा कामको चाप बढ्थ्यो। बालबालिकालाई पनि काम गर्न हतार हुन्थ्यो—किनकि काम सकेपछि गौरा जान पाइन्थ्यो।

नयाँ कपडा गौराका लागि भनेर जोगाएर राखिन्थ्यो। मैलो नहोस्, नच्यातियोस् भनेर विशेष ख्याल गरिन्थ्यो।

हातमा पाँच–सात रुपैयाँ पर्दा आफूलाई धनी ठानिन्थ्यो।

मेलामा के खाने? के खेल्ने? के किन्ने?

त्यही थियो बाल्यकालको अर्थशास्त्र।

आज पैसा र साधन धेरै छन्। मनोरञ्जनका माध्यम अनगिन्ती छन्। तर पाँच रुपैयाँले दिएको खुसी र गाउँको खलाले दिएको सामूहिकताको मूल्य आज कुनै पैसाले किन्न नसकिने ओझाको निष्कर्ष छ।

२०४७ सालपछि टुटेको गौराको खलो यात्रा

समयले भने बाल्यकालको त्यो नियमित यात्रा धेरै अघि रोकिदियो।

२०४७ सालपछि ओझाको गौराको खलो यात्रा टुट्यो।

गौराको खलोमा प्रत्यक्ष पुग्न नसके पनि गौरामाताको आशीर्वादबाट आफू टाढा नभएको उनी ठान्छन्। जहाँ छन्, त्यहीँबाट ज्वार्नुपरेको छ।

जन्मथलो धेरै टाढा नभए पनि समय, परिस्थिति र जीवनका आफ्नै बाटाहरूले मानिसलाई आफ्नै आँगनबाट टाढा पुर्‍याउने उनको अनुभूति छ।

“म गौराबाट टाढा भएको होइन, गौराको खलोबाट मात्र टाढिएको हुँ,” उनको स्मृतिले भन्छ।

दमाउ र भोक्करको आवाज सुन्दा कानले वर्तमान सुन्छ, तर मनले बाल्यकालको खलो खोज्छ। गौराका गीत सुन्दा वर्तमानले शब्द सुन्छ, तर स्मृतिले इजाको स्वर खोज्छ। बिरूडाको नाम आउँदा मन्दिर सम्झिन्छ। डेउडा सुरु हुँदा पुराना अनुहारहरू स्मृतिमा नाच्न थाल्छन्।

संस्कृति सम्झनु पनि सेवा हो

आज जन्मथलोको गौराको खलोमा नियमित पुग्न नसके पनि ओझा संस्कृति संरक्षणसँग जोडिएको आफ्नो जिम्मेवारीबाट भने पछि हटेका छैनन्।

उनका लागि संस्कृति संरक्षण भनेको केवल पूजा गर्ने वा खलामा उपस्थित हुने कुरा मात्र होइन। आफ्नो संस्कृति सम्झनु, त्यसका कथा लेख्नु, नयाँ पुस्तालाई सुनाउनु र मौलिकता जोगाउने प्रयास गर्नु पनि सेवा हो।

त्यही विश्वासले उनी आफ्ना बाल्यकालका स्मृतिहरूलाई शब्दमा उतारिरहेका छन्।

इजाका स्वर, काखीहरूका व्यस्त हात, बिरूडाको पूजा, गौराको खलो, दमाउ–भोक्कर, धुनीको ताप, धामीहरूको आस्था, डेउडाको लय, मेलाका पसल, पाँच रुपैयाँको बालसंसार र गौरालाई बिदा गर्ने पुराना गीत—यी सबै उनका लागि केवल व्यक्तिगत स्मृति होइनन्, एउटा पुस्ताको सांस्कृतिक इतिहासका पाना हुन्।

समय अगाडि बढेको छ। गाउँ फेरिएका छन्। मानिसहरू फेरिएका छन्। खलामा नयाँ पुस्ता आएको छ।

तर गौरामाता उही आस्थाको केन्द्रमा छिन्।

ओझाको स्मृतिको अन्तिम पानामा एउटा भावुक पुकार सुनिन्छ—

“हे गौरामाता! बाल्यकालमा तिम्रो खलोमा दौडिएर आएको त्यो मन आज पनि तिम्रै चरणमा छ। खलोमा पुग्ने संयोग नजुरे पनि स्मृतिको बाटो हुँदै म हरेक वर्ष तिमीलाई ज्वारिरहेको छु।”

उनका लागि जन्मभूमिको त्यो गौराको खलो केवल एउटा सांस्कृतिक स्थल होइन—स्मृतिको तीर्थ हो।

त्यहीँ उनको बाल्यकाल छ।
त्यहीँ आफ्ना मानिसहरू छन्।
त्यहीँ संस्कृतिको जरा छ।

जय गौरामाता!
जय हाम्रो संस्कृति!

स्मृतिलेखक : जगदीश ओझा
शिक्षक तथा साहित्यकार, भीमदत्त नगरपालिका–५, कञ्चनपुर
मिति : २०८३/५/१९, महेन्द्रनगर, कञ्चनपुर

( बैतडी बाट समृद्ध सुदूरपश्चिम अभियानका अभियन्नता उदय सिंह मारकण्डले तयार पारेको समाग्री )

Vip
72 0

0 Comments

Leave a comment

सम्पर्कमा रहनुहोस्

Follow Us
फ्लिकर फोटोहरू

© 2026 Samriddha Sudurpashchim. All Rights Reserved. developed by Futurelink Technologies Pvt. Ltd