विश्व रक्तदाता दिवस २०२६ को अवसरमा विशेष रक्तदान कार्यक्रम आयोजना हुने
गोदावरी, कैलाली । विश्व रक्तदाता दिवस २०२६ को अवसरमा ब्लड डोनर एसोसिएशन नेपाल, गोदावरी नगर समिति र फिटनेस प्लानेट एण्ड जुम्माको संयुक्त आयोजनामा विशेष रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ।
“रक्तदान जीवनदान हो” भन्ने मान्यतालाई आत्मसात् गर्दै मानव जीवन बचाउने यस पुण्य कार्यमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी भई रक्तदान गर्न आयोजकले आग्रह गरेको छ।
ब्लड डोनर एसोसिएशन नेपाल, गोदावरी नगर समितिद्वारा आयोजित उक्त कार्यक्रम २०८३ साल असार २३ गते बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म गोदावरी नगरपालिका–१, महेन्द्रनगर रोडस्थित गोदावरी कम्प्लेक्समा सञ्चालन गरिने समितिका सदस्य सुकदेव सिंहले जानकारी दिनुभयो।
उहाँका अनुसार रक्तदानले रगतको अभावमा रहेका बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले कार्यक्रममा सहभागी भई रक्तदान गर्न सबैमा अनुरोध गरिएको छ।
“तपाईंको एक युनिट रगतले कसैको अमूल्य जीवन बचाउन सक्छ,” भन्दै सिंहले विश्व रक्तदाता दिवस २०२६ को अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रमलाई सफल बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।
आयोजकले मानवताको सेवामा समर्पित यस अभियानमा सहभागी भई रक्तदान गर्न तथा अरूलाई पनि प्रेरित गर्न सम्पूर्ण नगरवासी तथा सरोकारवालाहरूमा अपिल गरेको छ।
© 2026 Samriddha Sudurpashchim. All Rights Reserved.
developed by Futurelink Technologies Pvt. Ltd