मनोज राज पडालको स्वदेशमै समृद्धिको यात्रा : दुई टनेलबाट सुरु भएको च्याउ खेती, अहिले १२० टनेलको व्यवसाय

मनोज राज पडालको स्वदेशमै समृद्धिको यात्रा : दुई टनेलबाट सुरु भएको च्याउ खेती, अहिले १२० टनेलको व्यवसाय


धनगढी । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने दृढ इच्छाशक्ति र निरन्तरको मेहनत भयो भने स्वदेशमै बसेर पनि राम्रो आम्दानीसँगै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका मनोज राज पडाल।
२०४२ साल वैशाख ८ गते धनगढीमा सिद्धराज पडाल र कलावतीदेवी पडालका कान्छा छोराका रूपमा जन्मिएका पडाल दुई भाइ र तीन बहिनीमध्ये कान्छा हुन्। उमेरका धेरै साथीहरू रोजगारी तथा अवसरको खोजीमा विदेशतर्फ लागिरहेका बेला पडालले भने आफ्नै ठाउँमा केही गर्ने अठोट लिए। त्यही अठोटले उनलाई अहिले सफल च्याउ किसान तथा च्याउको बीउ उत्पादकका रूपमा स्थापित गरेको छ।
पडालले २०७१/७२ सालदेखि फार वस्ट्रन एग्रो फर्मको नाम बाट व्यावसायिक रूपमा च्याउ खेती सुरु गरेका हुन्। सुरुवातमा दुईवटा सामान्य टनेल निर्माण गरी च्याउ खेती थालेका उनले निरन्तरको मेहनत, अनुभव र प्राविधिक ज्ञानसँगै व्यवसाय विस्तार गर्दै अहिले १२० भन्दा बढी टनेलमा च्याउ उत्पादन गरिरहेका छन्।
च्याउ खेतीबाट अहिले उनले मासिक डेढ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएका छन्। च्याउको मुख्य सिजनमा स्थानीयस्तरमै ३५ जनाभन्दा बढीलाई रोजगारीसमेत प्रदान गर्दै आएका छन्। यसले उनको व्यवसाय केवल व्यक्तिगत आम्दानीको माध्यम मात्र नभई स्थानीय रोजगारी सिर्जनाकोआधारसमेत बनेको छ।


विदेश जाने सोचभन्दा स्वदेशमै केही गर्ने हुटहुटी
पडालका अनुसार युवा अवस्थामा विदेश जाने अवसर र सोच नभएको होइन। तर आफ्नै देशमा बसेर केही गर्नुपर्छ भन्ने भावना बलियो भएकाले उनले स्वदेशमै सम्भावना खोजे।
सामाजिक क्षेत्रमा काम गर्ने क्रममा विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग काम गर्ने अवसर पाएपछि उनलाई च्याउ खेतीबारे थप अध्ययन र जानकारी लिने अवसर मिल्यो। त्यसक्रममा च्याउ उत्पादन मात्र होइन, यसको उपभोग, पोषण, बजार र बजारीकरणका विषयमा पनि जनचेतना आवश्यक रहेको उनले महसुस गरे।
“सुरुमा च्याउ उत्पादन गर्नुभन्दा पनि मानिसलाई च्याउ कसरी खाने, यसको महत्व के हो र यसलाई आफ्नो खानामा कसरी समावेश गर्ने भन्ने कुरा बुझाउनुपर्ने अवस्था थियो,” पडाल भन्छन्, “अहिले भने च्याउबारे उपभोक्तामा धेरै जानकारी र आकर्षण बढेको छ।”
       च्याउ खेती सामान्य कृषि व्यवसायजस्तो मात्र नभई तापक्रम, आर्द्रता, सरसफाइ र मौसम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने व्यवसाय भएको पडालको अनुभव छ। उनका अनुसार च्याउ खेतीमा मौसमअनुसार तापक्रम व्यवस्थापन गर्न नसक्दा उत्पादनमा प्रत्यक्ष असर पर्न सक्छ। त्यसैले व्यवसाय सुरु गर्नुअघि सम्बन्धित विषयको प्राविधिक ज्ञान लिनु अत्यन्त आवश्यक छ।
“कुनै पनि व्यवसाय सुरु गर्दा त्यससम्बन्धी राम्रो ज्ञान आवश्यक हुन्छ। च्याउ खेतीमा त मौसम र तापक्रम व्यवस्थापन झनै महत्वपूर्ण हुन्छ। सुरुवातमै प्राविधिक ज्ञान र सावधानी अपनाउन सकियो भने सफल हुन सहज हुन्छ,” उनी भन्छन्।


सुदूरपश्चिममा बढ्दैछ च्याउको बजार
पडालका अनुसार वर्षमा करिब सात महिना च्याउ उत्पादनको मुख्य सिजन रहने गर्दछ। सिजनअनुसार विभिन्न प्रकारका च्याउ उत्पादन गर्न सकिने भए पनि सुदूरपश्चिममा व्यावसायिक रूपमा कन्ये च्याउको माग र बजार राम्रो रहेको उनी बताउँछन्।
स्वास्थ्यप्रति मानिसहरूको बढ्दो सचेतनासँगै च्याउको उपभोग पनि बढिरहेको छ। पौष्टिक तत्व पाइने भएकाले च्याउलाई स्वस्थ खानाका रूपमा उपभोक्ताले रुचाउन थालेको उनको भनाइ छ।
“अहिले मानिसहरू खानपान र स्वास्थ्यप्रति निकै सचेत भएका छन्। च्याउ पनि स्वास्थ्यका दृष्टिले महत्वपूर्ण खाद्य पदार्थका रूपमा बुझिन थालेको छ। त्यसैले यसको माग पनि विस्तार हुँदै गएको छ,” पडाल बताउँछन्।
उनका अनुसार अहिले सुदूरपश्चिम प्रदेशमा साना तथा ठूला गरी करिब २५० भन्दा बढी किसान च्याउ खेतीतर्फ आकर्षित भएका छन्।


च्याउ खेतीसँगै बीउ उत्पादनमा पनि सफलता
च्याउ उत्पादनसँगै पडालले च्याउको बीउ उत्पादनलाई समेत व्यवसायको महत्वपूर्ण क्षेत्र बनाएका छन्। आफ्नै प्रयोगशालामार्फत गुणस्तरीय च्याउको बीउ उत्पादन गर्दै आएका उनले दक्ष जनशक्तिसहितको संरचना विकास गरेका छन्। उनले उत्पादन गरेका च्याउका बीउ सुदूरपश्चिममा मात्र नभई कर्णाली प्रदेशको सुर्खेत तथा लुम्बिनी प्रदेशको बुटवलसम्म पुग्ने गरेका छन्। यससँगै च्याउको बीउको बजारसमेत विस्तार हुँदै गएको उनी बताउँछन्।
गुणस्तरीय बीउ उत्पादन र प्राविधिक दक्षतालाई उनले आफ्नो व्यवसायको महत्वपूर्ण आधार मानेका छन्।
कृषि क्षेत्रबाट समृद्ध सुदूरपश्चिमको सम्भावना
च्याउ खेतीको सम्भावना सुदूरपश्चिममा अझै धेरै रहेको पडालको बुझाइ छ। कृषि ज्ञान केन्द्र तथा प्रदेशको कृषि क्षेत्रसँग सम्बन्धित निकायहरूले पनि च्याउ खेतीको प्रवर्द्धन, अध्ययन र विस्तारमा चासो देखाउन थालेको उनी बताउँछन्।
       उनका अनुसार आधुनिक प्रविधि, प्राविधिक ज्ञान, गुणस्तरीय बीउ, बजार व्यवस्थापन र सरकारी प्रोत्साहनलाई एकीकृत गर्न सके च्याउ खेतीबाट सुदूरपश्चिममा ठूलो मात्रामा रोजगारी र आम्दानी सिर्जना गर्न सकिन्छ।
“हामीले विदेश गएर मात्र रोजगारी खोज्नुपर्छ भन्ने सोच परिवर्तन गर्न आवश्यक छ। आफ्नै ठाउँमा सम्भावना खोजेर मेहनत गर्ने हो भने कृषि क्षेत्रमा पनि राम्रो आम्दानी गर्न सकिन्छ,” उनी भन्छन्।


कृषि उद्यमसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय
च्याउ खेती तथा बीउ उत्पादनमा सक्रिय पडाल सामाजिक क्षेत्रमा पनि निरन्तर जोडिँदै आएका छन्। उनी सुदूरपश्चिम चेम्बर अफ कमर्ससँग सम्बन्धित हुनुका साथै धनगढी उपमहानगरपालिका नगर चेम्बर अफ कमर्समा समेत आबद्ध छन्।
व्यवसाय, सामाजिक सेवा र कृषि उद्यमलाई सँगसँगै अघि बढाइरहेका पडालको यात्रा स्वदेशमै बसेर उद्यम गर्न चाहने युवाका लागि प्रेरणाको उदाहरण बनेको छ।
दुईवटा टनेलबाट सुरु भएको उनको यात्रा अहिले १२० भन्दा बढी टनेलसम्म पुगेको छ। व्यक्तिगत आम्दानीसँगै दर्जनौँ स्थानीयलाई रोजगारी दिन सफल भएको यो यात्राले “अवसर खोज्न विदेश नै जानुपर्छ भन्ने छैन, अवसर आफ्नै गाउँ–ठाउँमा सिर्जना गर्न सकिन्छ” भन्ने सन्देश दिएको छ। नेपालको कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन यस्ता उद्यमशील किसानको अनुभव, प्रविधि र सफलतालाई व्यापक रूपमा प्रचार गर्न सके स्वदेशमै रोजगारी सिर्जना, उत्पादन वृद्धि र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्न सक्छ।
मनोज राज पडालको च्याउ खेतीको यात्रा यही सम्भावनाको एउटा जीवन्त उदाहरण हो—हुटहुटी स्वदेशमै केही गर्ने हो भने माटोमै अवसर छ, मेहनतलाई उद्यममा बदल्ने साहस चाहिन्छ।

समृद्ध सुदूरपश्चिम अभियानका लागि रविन भट्टले तयार पारेको समाग्रि

Vip
160 0

0 Comments

Leave a comment

सम्पर्कमा रहनुहोस्

Follow Us
फ्लिकर फोटोहरू

© 2026 Samriddha Sudurpashchim. All Rights Reserved. developed by Futurelink Technologies Pvt. Ltd