विदेशको अनुभवदेखि आफ्नै माटोमा १० करोडको पोल्ट्री व्यवसाय : पहलवान देउवाको संघर्ष र उत्पादनको यात्रा

विदेशको अनुभवदेखि आफ्नै माटोमा १० करोडको पोल्ट्री व्यवसाय : पहलवान देउवाको संघर्ष र उत्पादनको यात्रा


कैलाली — विदेशमा १५ वर्ष बिताउँदा कमाइ त भयो, तर मनले खोजेको सन्तुष्टि भेटिएन। अन्ततः आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले जन्मभूमि फर्किएका पहलवान देउवा अहिले आफ्नै ठाउँमा उत्पादन र रोजगारी सिर्जना गर्ने उदाहरणीय व्यवसायीका रूपमा स्थापित हुँदै गएका छन्।
डोटीको तत्कालीन कानाचौर गाविस–६, चनडामा वि.सं. २०४२ पुस १९ गते जन्मिएका देउवा बुवा इन्द्रबहादुर देउवा र आमा डम्मरा देवी देउवाका तीन छोरा र दुई छोरीमध्ये कान्छा छोरा हुन्।
भारतमा करिब १५ वर्ष बिताएका उनले होटलमा काम गर्नेदेखि आफ्नै होटल सञ्चालन गर्नेसम्मको अनुभव बटुले। तर लामो समय विदेशमा काम गरे पनि आफ्नै देशमा बसेर केही गर्ने चाहना उनको मनबाट हटेन।
“विदेशमा काम गर्दा कमाइ भए पनि आफ्नै देशमा केही गरौँ, आफ्नै ठाउँमा उत्पादन गरौँ र अरूलाई पनि रोजगारी दिऔँ भन्ने सोच बलियो हुँदै गयो,” देउवा भन्छन्।


चार करोडबाट सुरु भएको यात्रा, अहिले १० करोडको लगानी
घोडाघोडी नगरपालिका–८, कल्जुगीमा घोडाघोडी पोल्ट्री प्रा.लि. सञ्चालनमा ल्याएर देउवाले करिब १० वर्षदेखि व्यावसायिक पोल्ट्री व्यवसाय संगै बहुउद्देश्यीय कृषि फारमको अबधारणाका साथ अगाढी बढायका छन । बहुउद्देश्यीय  पशुपन्छि , फलफुल तथा मत्स्य व्यवसायको उत्पादन तथा बिक्रीवितरण केन्द्रको रुपमा लिन सकिन्छ ।
करिब चार करोड रुपैयाँको लगानीबाट कुखुरा पालन तथा अण्डा उत्पादन सुरु गरेका उनले व्यवसायलाई विस्तार गर्दै अहिले करिब १० करोड रुपैयाँको लगानीको अवस्थामा पुर्‍याएका छन्।
सुरुवातमा पोल्ट्री व्यवसायसम्बन्धी पर्याप्त अनुभव नभए पनि काम गर्दै सिक्दै जाने उनको यात्राले अहिले फरक रूप लिएको छ। कुखुराको स्वास्थ्य, दाना, औषधि, उत्पादन व्यवस्थापन र बजार व्यवस्थापनका विषयमा निरन्तर अनुभव हासिल गर्दै उनी व्यवसायलाई अगाडि बढाइरहेका छन्।
उनका अनुसार गुणस्तरीय दाना र औषधिको प्रयोगले उत्पादनमा प्रत्यक्ष प्रभाव पार्छ। राम्रो कम्पनीको गुणस्तरीय दाना प्रयोग गर्न सकियो भने कुखुराको स्वास्थ्य राम्रो हुने र उत्पादन पनि बढ्ने उनको अनुभव छ।
आज यो व्यवसायमा देउवा स्वयं, उनका श्रीमती र छोराछोरीसँगै चार जना कर्मचारी प्रत्यक्ष रूपमा संलग्न छन्। यसरी एउटा व्यवसायले एउटा परिवारको जीविकोपार्जन मात्र होइन, स्थानीयस्तरमा रोजगारीको अवसरसमेत सिर्जना गरिरहेको छ।


उत्पादन गर्ने किसान, तर बजारको चिन्ता
पोल्ट्री व्यवसायबाट उत्पादन बढाउँदै लगे पनि देउवाका लागि सबैभन्दा ठूलो चुनौती भनेको बजार र मूल्य हो।
विशेषगरी सुदूरपश्चिमको खुला सीमाका कारण भारतबाट अवैध रूपमा अण्डा तथा कुखुरा भित्रिने समस्या नेपाली पोल्ट्री व्यवसायीका लागि ठूलो चुनौती बनेको उनको गुनासो छ।
नेपालमै किसानले ठूलो लगानी गरेर कुखुरा पाल्ने, दाना र औषधिमा खर्च गर्ने, श्रमिकलाई रोजगारी दिने र उत्पादन गर्ने तर बजारमा विदेशी उत्पादनसँग अस्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाले नेपाली किसान तथा व्यवसायीलाई निरुत्साहित बनाउने गरेको उनी बताउँछन्।
“हामीले उत्पादन गरेका अण्डा तथा कुखुराले उचित बजार र उचित मूल्य नपाउने अवस्था छ। बजार पाइहाले पनि लागतअनुसारको मूल्य नपाउँदा व्यवसाय सञ्चालन गर्न निकै कठिन हुन्छ,” देउवा भन्छन्। उनका अनुसार खुला सीमाबाट हुने चोरी–निकासी नियन्त्रण गर्न नसक्दा नेपाली किसानले ठूलो मूल्य चुकाउनुपरेको छ।सरकारले नेपाली किसानको उत्पादनलाई संरक्षण गर्दै अवैध आयात नियन्त्रण गर्न सके स्वदेशी उत्पादन र रोजगारी दुवै बढाउन सकिने उनको विश्वास छ।
सरकार अभिभावक बनेको महसुस हुन सकेन पोल्ट्री व्यवसायमा देखिएका समस्या समाधानका लागि स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्म विभिन्न समयमा आफ्ना माग र समस्या राख्दै आएको देउवा बताउँछन्। तर उत्पादनमूलक क्षेत्रमा ठूलो लगानी गर्ने व्यवसायी तथा किसानका समस्या समाधान गर्न सरकारको अभिभावकीय भूमिका अझै पर्याप्त हुन नसकेको उनको गुनासो छ।
उनका अनुसार व्यवसायीले केवल अनुदान खोजेका होइनन्। उत्पादनको सुनिश्चित बजार, चोरी–पैठारी नियन्त्रण, उचित मूल्य, व्यवसायमैत्री नीति, बीमा तथा संकटका बेला सरकारी सहयोगजस्ता आधारभूत विषयमा राज्यको साथ आवश्यक छ।
“हामीले आफ्नै देशमा उत्पादन बढाउन खोजेका छौँ। स्थानीय मानिसलाई रोजगारी दिएका छौँ। देशको अर्थतन्त्रमा योगदान गर्न खोजेका छौँ। तर समस्या पर्दा व्यवसायी एक्लै लड्नुपर्ने अवस्था हुनु दुःखद् हो,” उनको भनाइ छ।


कोभिड : उत्पादन भएको अण्डा बेच्न नसकेको पीडादायी समय
देउवाको व्यवसायिक यात्रामा कोभिड–१९ को समय सबैभन्दा पीडादायी अध्याय बनेर बसेको छ।
लकडाउनका कारण बजार बन्द हुँदा उत्पादन भएका अण्डा बिक्री गर्न सकिएन। कुखुरालाई आवश्यक पर्ने दाना ल्याउनसमेत कठिन भयो। समयमै दाना उपलब्ध हुन नसक्दा आफ्नै खोरमा कुखुरा मर्न थाले।
व्यवसायमा ठूलो क्षति व्यहोर्नुपरेको त्यो समय सम्झिँदा अहिले पनि उनको मन भारी हुन्छ।
उत्पादन भएको वस्तु बजारमा लैजान नपाउनु, कुखुरालाई दाना उपलब्ध गराउन नसक्नु र अन्ततः आफ्नै खोरमा मरेका कुखुराको व्यवस्थापन गर्नुपर्ने अवस्था उनका लागि कहिल्यै नबिर्सने तीतो अनुभव बनेको छ। त्यति ठूलो क्षति व्यहोर्दासमेत स्थानीय सरकार, बीमा कम्पनी वा अन्य निकायबाट अपेक्षित हौसला र सहयोग नपाएको उनको गुनासो छ।
‘विदेशमा होइन, आफ्नै माटोमा पनि सम्भावना छ’
विदेशमा १५ वर्ष काम गरेर स्वदेश फर्किएका देउवाको यात्राले एउटा महत्वपूर्ण सन्देश दिन्छ—रोजगारी खोज्न विदेश जानुभन्दा आफ्नै ठाउँमा सम्भावना खोज्न सके उत्पादनसँगै रोजगारी पनि सिर्जना गर्न सकिन्छ।
उनले विदेशमा सिकेको कामको अनुभवलाई आफ्नै देशमा प्रयोग गरे। होटल व्यवसायदेखि व्यापारसम्मको अनुभवलाई विस्तार गर्दै अन्ततः कृषि तथा पशुपन्छी क्षेत्रमा आफ्नो भविष्य खोजे।
आज उनी आफूमात्रै व्यवसायमा छैनन्। परिवारका सदस्यसँगै स्थानीय चार जनालाई रोजगारी दिएका छन्। उत्पादन गरेका अण्डा तथा कुखुरामार्फत बजारको माग पूरा गर्न योगदान गरिरहेका छन्।
यो यात्रा केवल एउटा व्यवसायीको आर्थिक सफलताको कथा होइन। यो विदेशबाट फर्किएर आफ्नै माटोमा सम्भावना खोज्ने, जोखिम उठाउने, उत्पादन गर्ने र अरूलाई पनि रोजगारी दिने नेपाली युवाको संघर्षको कथा हो।


उत्पादनमुखी अर्थतन्त्रका लागि राज्यको साथ आवश्यक
नेपालले आत्मनिर्भर अर्थतन्त्रको कुरा गरिरहँदा देउवाजस्ता व्यवसायीको अनुभवले उत्पादनमुखी अर्थतन्त्र निर्माणको वास्तविक चुनौती देखाउँछ।
किसान तथा व्यवसायीले उत्पादन गर्न तयार छन्। निजी क्षेत्रले लगानी गर्न तयार छ। स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न व्यवसायीहरू तयार छन्। तर त्यसका लागि राज्यले बजारको सुनिश्चितता, अवैध आयात नियन्त्रण, उचित मूल्यको वातावरण, बीमा प्रणालीको प्रभावकारिता र संकटका बेला राहत तथा सहुलियतको व्यवस्था गर्नुपर्ने देउवाको धारणा छ। विशेषगरी सुदूरपश्चिमजस्तो सीमावर्ती प्रदेशमा स्वदेशी उत्पादनलाई संरक्षण नगरी स्थानीय उत्पादन र रोजगारीलाई दिगो बनाउन कठिन हुने उनको भनाइ छ। किसानले उत्पादन गर्ने, व्यवसायीले लगानी गर्ने र युवाले रोजगारी पाउने वातावरण बनाउन सके मात्रै उत्पादनमुखी अर्थतन्त्र बलियो बन्न सक्छ।
पहलवान देउवाको करिब एक दशक लामो पोल्ट्री यात्रा यही सम्भावनाको एउटा उदाहरण हो। विदेशमा १५ वर्ष बिताएर आफ्नै देश फर्किएका उनले हार्डवेयर व्यवसायदेखि पोल्ट्रीसम्मको यात्रा तय गरे। चुनौती अझै छन्, बजारको समस्या अझै छ, सरकारी अभिभावकत्वको अपेक्षा अझै छ। तर आफ्नो माटोमा केही गर्नुपर्छ भन्ने अठोट भने कमजोर भएको छैन।
पहलवान देउवाले पोल्ट्री व्यवसायसँगै कृषि तथा पशुपालनलाई पनि व्यापक रूपमा अघि बढाएका छन्। हाल बाईस बिघा जमिन लिजमा लिएर करिब दश बिघामा उखु, एक बिघामा चारसय कागतीका बिरुवा, करिब २ हजार ड्रागन फ्रुटका बिरुवा, बेसार, स्थानीय केरा, लोकल कुखुरा र एक बिघामा माछापालन गरिरहेका छन्। त्यस्तै पाचसय बाख्रा र पाच सय बङ्गुर पाल्न सक्ने क्षमताका फार्म सञ्चालनमा छन्। हाल करिब साठी बाख्रा र साठी भन्दा बढि बङ्गुर रहेका छन्।
डोटीस्थित आफ्नै पुर्ख्यौली जमिनमा समेत कागती, बेसार र स्थानीय केराको खेती पनि बिस्तार गर्दै देउवाले कृषि उत्पादनका विभिन्न काममा वार्षिक करिब पाँच सय भन्दा वढी  श्रमिकलाई ज्यालादारी रोजगारी दिँदै आएका छन्।


उनको उद्देश्य स्पष्ट बाँझो जमिनलाई उत्पादनमा जोड्ने, स्थानीयलाई रोजगारी दिने र कृषि तथा पशुपालनमार्फत उत्पादनमुखी अर्थतन्त्र निर्माणमा योगदान गर्ने। उनको संघर्षले एउटा स्पष्ट सन्देश दिन्छ—
“देशमा सम्भावना छैन भनेर विदेश जानुभन्दा पहिले आफ्नै माटोमा सम्भावना खोजौँ। उत्पादन गरौँ, रोजगारी सिर्जना गरौँ र नेपाली अर्थतन्त्रलाई बलियो बनाउन आफूले सक्ने योगदान गरौँ।”
पहलवान देउवाको पोल्ट्री यात्रा यही अठोट, संघर्ष र उत्पादनप्रतिको विश्वासको प्रेरणादायी उदाहरण बनेको छ।

Vip
96 0

0 Comments

Leave a comment

सम्पर्कमा रहनुहोस्

Follow Us
फ्लिकर फोटोहरू

© 2026 Samriddha Sudurpashchim. All Rights Reserved. developed by Futurelink Technologies Pvt. Ltd