पाँचसय रुपैयाँमा एउटा घार बाट सुरु भएको मौरीपालन, अहिले सय घारका मालिक महेशराज जोशी

पाँचसय रुपैयाँमा एउटा घार बाट सुरु भएको मौरीपालन, अहिले सय घारका मालिक महेशराज जोशी

कञ्चनपुर । साथीभाइसँग पाँच–पाँच सय रुपैयाँ संकलन गरेर एउटा घारबाट सुरु गरेको मौरीपालन व्यवसायले अहिले महेशराज जोशीलाई सय घार मौरीका मालिक बनाएको छ। कृषि अध्ययनसँगै आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ मौरीपालनमा लागेका जोशी अहिले व्यावसायिक मौरीपालनतर्फ अघि बढिरहेका छन्।


दार्चुलाको दुहुँ गाउँपालिका–४, जोशी गाउँमा जन्मिएका महेशराज जोशी मिति २०५८ साल फागुन १४ गते बुवा मदनराज जोशी र आमा बिमला जोशीका तीन सन्तानमध्ये  जेठा छोराको रुपमा जन्मिएका हुन ।
बीएस्सी एजि कृषि अध्ययन गरिरहेका जोशीले पढाइसँगै कृषि क्षेत्रमै केही गर्ने उद्देश्यले मौरीपालन सुरु गरेका हुन्।
कञ्चनपुरको बेदकोट नगरपालिका–८, गाउँजी बैजनाथ टोलमा उनले मौरीपालन गर्दै आएका छन्। गत वर्ष करिब ३० घार रहेकोमा यस वर्ष घार र मौरीको सङ्ख्या बढाएर सय घार पुर्‍याएका छन्।


मौरीपालनमा वार्षिक रूपमा करिब ३  लाख रुपैयाँसम्म खर्च हुने गरेको जोशी बताउँछन्। व्यवसायलाई बढाउने क्रममै रहेकोहुदा  मौरीका लागि आवश्यक भिटामिन, औषधि, आहार तथा चरन व्यवस्थापनलगायतमा खर्च हुने गरेको उनको भनाइ छ। मौरीपालनमा उनीसँगै उनका बुवा पनि सक्रिय रूपमा खटिँदै आएका छन् भने मह निकाल्ने समयमा ८ देखि १० जनासम्म स्थानीयलाई ज्यालादारीमा रोजगारी दिने गरेका छन्।
अहिले आफूले मौरी र घारको सङ्ख्या विस्तारमा बढी ध्यान दिइरहेको बताउँदै जोशीले आगामी दिनमा उत्पादन बढाउँदै लैजाने लक्ष्य राखेका छन्। मौरी तथा मह बिक्रीबाट राम्रो आम्दानीको सम्भावना रहेको र बजारसमेत विस्तार हुँदै गएकाले वार्षिक रूपमा खर्च कटायर मह र महुरीको बिक्रीवितरण बाट करिब तीन देखि पाँच लाख रुपैयाँसम्म बचत गर्न सकिने उनको विश्वास छ।


जोशीले आफूले उत्पादन गरेको मह अनलाइन माध्यमबाट आफैं बिक्री गर्दै आएका छन्। अनलाइनमा आउने माग र अर्डरले उनलाई यस व्यवसायमा थप उत्साहित बनाएको छ। उपभोक्ताबाट प्रत्यक्ष रूपमा आएको मागले गुणस्तरीय उत्पादन गर्न सके बजारको अभाव नहुने विश्वाससमेत उनलाई बढेको छ।
कृषि ज्ञान केन्द्र तथा स्थानीय कृषि शाखाबाट प्राप्त प्रोत्साहन र सहयोगले आफूलाई कृषि तथा मौरीपालनमा थप काम गर्ने हौसला मिलेको जोशी बताउँछन्। कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन सरकारी निकायबाट प्राप्त प्राविधिक सहयोग, परामर्श र प्रोत्साहनले महत्वपूर्ण भूमिका खेल्ने उनको अनुभव छ।


“आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले मौरीपालन सुरु गरेको हुँ। सानो लगानी र सीमित साधनबाट सुरु गरेको काम आज विस्तार हुँदै गएको छ। बजारमा महको माग राम्रो छ। अझै लगानी र उत्पादन बढाएर व्यावसायिक रूपमा अघि बढ्ने लक्ष्य छ,” जोशी बताउँछन्।
महेशराजको यात्रा युवाका लागि एउटा सकारात्मक उदाहरण बनेको छ। रोजगारीको खोजीमा विदेश जानुभन्दा आफ्नै माटोमा उपलब्ध स्रोत, सीप र सम्भावनाको सदुपयोग गर्न सके कृषि क्षेत्रबाटै राम्रो आम्दानी र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश उनको प्रयासले दिएको छ।
यस्ता युवालाई आवश्यक प्राविधिक ज्ञान, प्रविधि, बजार व्यवस्थापन, वित्तीय पहुँच र सरकारी प्रोत्साहन निरन्तर उपलब्ध गराउन सके कृषि उत्पादनमा वृद्धि, रोजगारी सिर्जना र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुग्न सक्छ। स्थानीय स्रोत र सम्भावनालाई उत्पादनमा रूपान्तरण गर्दै अघि बढ्ने महेशराजजस्ता युवाको प्रयासले समृद्ध सुदूरपश्चिम निर्माणको अभियानलाई समेत टेवा पुर्‍याउने देखिन्छ।

Vip
92 0

0 Comments

Leave a comment

सम्पर्कमा रहनुहोस्

Follow Us
फ्लिकर फोटोहरू

© 2026 Samriddha Sudurpashchim. All Rights Reserved. developed by Futurelink Technologies Pvt. Ltd