बझाङ । आफ्नै गाउँको माटोमा केही नयाँ गर्ने उद्देश्य राखेर कृषि क्षेत्रमा निरन्तर मेहनत गरिरहेका जयपृथ्वी नगरपालिका–११, पिठालेखका सुरेन्द्रबहादुर थापा अहिले स्थानीयस्तरमा कृषि उद्यमको उदाहरण बन्नुभएको छ।
२०४२ साल माघ ९ गते पिठालेखमा जन्मिनुभएका थापा टेकबहादुर थापा र जलुदेवी थापाका चार छोरा र दुई छोरी मध्ये जेठा छोरा हुनुहुन्छ। आफ्नै स्थानीय स्कुलमा अध्ययन गरी एसएलसीसम्मको शिक्षा हासिल गर्नुभएका उहाँलाई सानैदेखि कृषि पेशाप्रति विशेष रुचि थियो। कृषिमा निर्भर ग्रामीण परिवारको जीवनलाई नजिकबाट बुझ्दै आउनुभएका थापाले रोजगारीका लागि अन्यत्र जानुभन्दा आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोच बनाउनुभयो। त्यही सोचका साथ उहाँले आफ्नै गाउँको माटोमा विभिन्न जातका बिरुवाको उत्पादन तथा बिक्री–वितरण गर्ने उद्देश्यले नर्सरी सञ्चालन सुरु गर्नुभयो।
व्यवसायलाई थप व्यवस्थित बनाउने क्रममा उहाँले २०७७ सालमा श्रीमती टिउकीदेवी थापाको नाममा ‘निलकट्टि बहुउद्देश्यीय कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा कृषि क्षेत्रमा आफ्नो यात्रा अगाडि बढाउनुभयो।
आठ रोपनि जमिनमा हाल उहाँले कागती, अमिला, ओखर र तिमुरलगायतका बिरुवा तथा बालीमा विशेष ध्यान दिनुभएको छ। उहाँका अनुसार करिब २०० वटा कागती तथा अमिलाका बोट, २०० वटा ओखरका बिरुवा र करिब २०० वटा तिमुरका बोट लगाइएका छन्। यससँगै नर्सरीमा विभिन्न जातका फलफूल तथा अन्य उपयोगी बिरुवासमेत उत्पादन गरी बिक्री–वितरण गर्दै आउनुभएको छ।
सडक पुग्यो, बजार नजिक छ; तर सिँचाइ अझै चुनौती
थापाको घरनजिकै सडक पुगेको छ भने नजिकै चैनपुर बजारसमेत रहेको छ। यसले उत्पादित कृषि सामग्रीको बजारीकरणमा केही सहजता भए पनि पर्याप्त सिँचाइको सुविधा नहुँदा आफूले चाहेजति उत्पादन बढाउन नसकेको उहाँ बताउनुहुन्छ।
“बजार नजिकै छ, सडक पनि पुगेको छ। उत्पादन बढाउन सके बजारको समस्या हुँदैन। तर सिँचाइको अभावले चाहेजति काम गर्न सकिएको छैन,” उहाँको भनाइ छ।
कृषि क्षेत्रमा थप ज्ञान र सीप हासिल गर्ने अवसरले आफूमा नयाँ ऊर्जा र आत्मविश्वास थपिएको थापा बताउनुहुन्छ। कृषि ज्ञान केन्द्रमार्फत काठमाडौँमा भएको छदिने तालिममा सहभागी भएपछि आधुनिक कृषि प्रविधि, उत्पादन विस्तार र व्यावसायिक कृषिका विषयमा थप जानकारी हासिल गरेको उहाँको भनाइ छ।
“तालिमपछि आफ्नै ठाउँमा अझै धेरै गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ। मेहनत र आवश्यक प्रविधि तथा पूर्वाधारको सहयोग पाए गाउँमै राम्रो उत्पादन गर्न सकिने रहेछ,” थापा भन्नुहुन्छ।
परिवारकै श्रम, आवश्यक पर्दा ज्यालादारी श्रमिक
थापाको कृषि कर्ममा परिवारका सदस्यको पनि महत्वपूर्ण योगदान छ। उहाँका अनुसार बगैँचा तथा नर्सरीमा श्रीमान्–श्रीमती, छोराछोरी र भाइ मिलेर काम गर्ने गरेका छन्। उत्पादन तथा टिपाइको समयमा भने आवश्यकता हेरी १० देखि १५ जनासम्म ज्यालादारी श्रमिकलाई समेत रोजगारी दिने गरिएको छ।

यसरी कृषि व्यवसायले आफ्नै परिवारलाई आम्दानीको आधार दिनुका साथै स्थानीयस्तरमा केही व्यक्तिलाई रोजगारीको अवसरसमेत सिर्जना गरेको छ।
एकै वर्षमा पाँच लाखसम्मको नर्सरी बिक्री
नर्सरीबाट उत्पादित बिरुवा बिक्री–वितरण गरेर थापाले राम्रो आम्दानीसमेत गर्दै आउनुभएको छ। उहाँका अनुसार राम्रो वर्षमा नर्सरीबाट मात्रै एकै वर्षमा दुई लाखदेखि पाँच लाख रुपैयाँसम्मको बिरुवा बिक्री हुने गरेको छ तर यस वर्ष भने अपेक्षाअनुसार बिक्री हुन नसक्दा उहाँ केही चिन्तित हुनुहुन्छ।
नर्सरीसँगै थापाले मौसमी तथा बेमौसमी तरकारी खेती र फलफूल खेतीसमेत गर्दै आउनुभएको छ। विशेषगरी टमाटर, काँक्रा तथा विभिन्न फलफूलबाट राम्रो आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ।

‘विदेश होइन, आफ्नै माटोमा सम्भावना खोजौँ’
सुरेन्द्रबहादुर थापाको कृषि यात्रा केवल व्यक्तिगत आम्दानीको प्रयास मात्र होइन, आफ्नै गाउँमा रोजगारी र उत्पादनको सम्भावना खोज्ने प्रयास पनि हो।
सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा पर्याप्त जमिन, अनुकूल हावापानी र कृषि सम्भावना हुँदाहुँदै पनि धेरै युवा रोजगारीका लागि बाहिरिनुपर्ने अवस्था छ। यस्तो अवस्थामा आफ्नै गाउँमा कृषि उद्यम सुरु गरेर उत्पादनमा जोड दिनुपर्ने थापाको धारणा छ।
उहाँको अनुभवले ‘आफ्नै माटोमा मेहनत गरे उत्पादन गर्न सकिन्छ र उत्पादनबाटै आम्दानी तथा रोजगारी सिर्जना गर्न सकिन्छ’ भन्ने सन्देश दिएको छ।
सिँचाइ, प्राविधिक ज्ञान, बजार व्यवस्थापन र आवश्यक पूर्वाधारमा सहयोग पुग्न सके आफ्नो कृषि व्यवसायलाई अझ विस्तार गर्ने योजना थापाको छ। उहाँ भविष्यमा नर्सरीको क्षमता बढाउनुका साथै फलफूल तथा अन्य कृषि उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्ने लक्ष्यमा हुनुहुन्छ। कृषि क्षेत्रमा यस्ता स्थानीय उद्यमीको प्रयासलाई प्रोत्साहन गर्न सके गाउँमै उत्पादन बढ्ने, रोजगारी सिर्जना हुने र स्थानीय अर्थतन्त्र चलायमान हुने विश्वास गर्न सकिन्छ।
कृषिलाई निर्वाहमुखी पेशाबाट उत्पादनमुखी व्यवसायमा रूपान्तरण गर्दै स्थानीय स्रोत, श्रम र सीपको उपयोग गर्न सके सुदूरपश्चिमको समृद्धिको आधार गाउँगाउँबाटै निर्माण गर्न सकिन्छ। सुरेन्द्रबहादुर थापाको प्रयास त्यसैको एउटा प्रेरणादायी उदाहरण हो।
( समृद्ध सुदूरपश्चिम अभियानका अभियन्ता रविन भट्टले तयार पारेको समाग्रि )
© 2026 Samriddha Sudurpashchim. All Rights Reserved.
developed by Futurelink Technologies Pvt. Ltd