गाउँमै केही गर्ने अठोट : बाख्रा पालनबाट भविष्य खोज्दै नन्दराम बुढा

गाउँमै केही गर्ने अठोट : बाख्रा पालनबाट भविष्य खोज्दै नन्दराम बुढा

तुर्माखाँद गाउँपालिका–१, रहफका किसान नन्दराम बुढा पुर्ख्यौली कृषि कर्मलाई व्यावसायिक रूप दिँदै गाउँमै आत्मनिर्भर बन्ने प्रयासमा छन्।
तुर्माखाँद गाउँपालिका–१, रहफका स्थानीय नन्दराम बुढाको जीवन बाख्रा पालनसँग जोडिएको छ। गाउँका धेरै मानिस रोजगारी र अवसरको खोजीमा बाहिरिँदै गर्दा बुढाले भने आफ्नै गाउँमा बसेर केही गर्न सकिन्छ भन्ने अठोटका साथ कृषि तथा पशुपालनलाई आफ्नो मुख्य व्यवसायका रूपमा अघि बढाइरहेका छन्।
२०३० चैत्र २८ गते बुवा करे बुढा र आमा धनादेवी बुढाको कोखबाट जन्मिएका नन्दराम बुढा परिवारका माइलो छोरा हुन्। बाल्यकालदेखि नै बुवाको साथमा पुर्ख्यौली खेतीपाती तथा किसानी गर्दै आएका उनले २०७७ सालदेखि भने पशुपालनलाई व्यावसायिक रूपमा अघि बढाउन थाले।

स्थानीय तहको कृषि शाखा तथा कृषि ज्ञान केन्द्रबाट प्राप्त हौसला र प्रेरणाले आफूलाई व्यावसायिक कृषि तथा पशुपालनतर्फ लाग्न थप उत्साह मिलेको बुढा बताउँछन्। सुरुवातमा करिब २० वटा बाख्राबाट व्यवसाय सुरु गरेका उनले अहिले ७० वटा जमुनापारी,बाेयर,सिराेहीहरूकाे क्रस बाख्रा रहेका छन ।  बाख्राको घास व्यवस्थापनको लागि १३ रोपनि जति जमिनमा विभिन्न किसिमका डाले घासहरु लगायको उहाँ बताउनु हुन्छ ।
बुढाको पशुपालन व्यवसायमा साना पाठापाठी हुर्काउने र ठूला भएका  बिक्री गर्ने मुख्य काम हुन्छ। यसबाट प्राप्त आम्दानी उनको परिवारको जीविकोपार्जनसँगै भविष्यको आधारसमेत बन्दै गएको छ।


परिवारकै सहकार्यमा व्यवसाय
नन्दरामको पशुपालन व्यवसायमा उनी एक्लै छैनन्। श्रीमान्–श्रीमतीसँगै चार छोराछोरीले समेत पशुहरूको हेरचाह, चरिचरण र खोर व्यवस्थापनमा सहयोग गर्ने गरेका छन्। पुर्खाहरूले गर्दै आएको कामलाई आधुनिक र व्यावसायिक ढङ्गले अगाडि बढाउने मेरो चाहना हो,” बुढाको भनाइ छ। आफूले पशुपालनसम्बन्धी थप तालिम तथा प्रशिक्षण लिएर व्यवसायलाई अझ व्यवस्थित बनाउने योजना रहेको उनी बताउँछन्।

गाउँमा रोजगारीका अवसर कम हुँदै गएपछि युवाहरू विदेशिने र धेरै परिवार गाउँबाट बाहिरिने क्रम बढिरहेको अवस्थामा बुढाले आफ्नै गाउँमा बसेर श्रम र सीपको प्रयोग गर्ने बाटो रोजेका छन्।
उनका लागि बाख्रा पालन केवल आम्दानीको माध्यम मात्र होइन, एउटा सपना पनि हो। यही व्यवसायबाट आफ्ना छोराछोरीको भविष्य सुरक्षित गर्ने र आफ्नो परिवारलाई आर्थिक रूपमा बलियो बनाउने उनको लक्ष्य छ।
बजारको समस्या छैन, उत्पादन बढाउन सहयोग चाहिन्छ
बुढाले उत्पादन गरेका बाख्रा खरिद गर्न कालिकोट, हुम्ला र जुम्लालगायतका जिल्लाबाट किसान तथा व्यापारीहरू घरमै पुग्ने गरेका छन्। यसले स्थानीय उत्पादनका लागि बजारको सम्भावना राम्रो रहेको देखाउँछ।
तर व्यवसायलाई ठूलो आकारमा विस्तार गर्न भने विभिन्न चुनौती रहेको उनको भनाइ छ। पशु बीमा सहज र प्रभावकारी नहुनु, गाउँमै नियमित पशु उपचारको व्यवस्था नहुनु तथा सरकारी निकायबाट पर्याप्त प्राविधिक तथा आर्थिक सहयोग नपाउनु किसानका प्रमुख समस्या रहेको उनी बताउँछन्।


 

सरकार किसानको अभिभावक बन्नुपर्छ
बुढाको अनुभवमा बाख्रा पालनलाई व्यावसायिक रूपमा विस्तार गर्न सरकारले किसानलाई अभिभावकको भूमिका निर्वाह गर्न आवश्यक छ।
पशु बीमा सहज बनाउने, गाउँमै पशु स्वास्थ्य सेवा उपलब्ध गराउने, आवश्यक औषधि तथा प्राविधिक जनशक्तिको व्यवस्था गर्ने, किसानलाई आधुनिक पशुपालनसम्बन्धी तालिम दिने र उत्पादनका लागि सहुलियतपूर्ण ऋण तथा अनुदान उपलब्ध गराउने हो भने ग्रामीण क्षेत्रमा पशुपालन व्यवसायले ठूलो सम्भावना बोकेको उनी बताउँछन्। बाख्रा राम्रो व्यवस्थापन, उचित चरिचरण र पोषणमा ध्यान दिन सके उत्पादन अझ बढाउन सकिन्छ,” बुढा भन्छन्।
उनका अनुसार नेपालमा मासुजन्य उत्पादनको माग ठूलो रहेकाले स्थानीय किसानलाई आवश्यक सहयोग र प्रोत्साहन दिन सके मासु उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन योगदान पुग्न सक्छ।
पशुपालनबाट आम्दानीसँगै रोजगारीको सम्भावना
नन्दराम बुढाको संघर्ष एउटा किसानको व्यक्तिगत कथा मात्र होइन, ग्रामीण अर्थतन्त्रको सम्भावनासँग जोडिएको उदाहरण पनि हो। गाउँमै पशुपालन व्यवसाय विस्तार गर्न सकिएमा परिवारको आम्दानी बढ्नुका साथै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सकिने उनको विश्वास छ।
स्थानीय जातका भेडा, बाख्रा तथा च्याङ्ग्राको संरक्षण र व्यावसायिक उत्पादनलाई जोड दिन सके ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउन सकिने देखिन्छ। यसका लागि किसानको मेहनतसँगै सरकार, स्थानीय तह र सम्बन्धित निकायको प्राविधिक, आर्थिक तथा नीतिगत सहयोग आवश्यक छ।

     गाउँ छाडेर अवसर खोज्नुपर्ने बाध्यताबीच आफ्नै माटोमा पसिना बगाइरहेका नन्दराम बुढाजस्ता किसानका लागि राज्यको साथ र संरक्षण अझ महत्वपूर्ण हुन्छ। किसानलाई उत्पादनसँगै बीमा, उपचार, बजार र प्रविधिसँग जोड्न सकिएमा भेडा–बाख्रा तथा च्याङ्ग्रा पालन ग्रामीण आत्मनिर्भरता र स्थानीय रोजगारीको बलियो आधार बन्न सक्छ।
नन्दरामको सपना पनि यही हो—आफ्नै गाउँमा बसेर पशुपालनलाई आधुनिक र व्यावसायिक बनाउने, परिवारको भविष्य सुरक्षित गर्ने र आफ्नो गाउँमै रोजगारी तथा आम्दानीको अवसर सिर्जना गर्ने।
( समृद्ध सुदूरपश्चिम अभियानका अभियन्ता रविन भट्टले तयार पारेको समाग्री )

Vip
922 0

0 Comments

Leave a comment

सम्पर्कमा रहनुहोस्

Follow Us
फ्लिकर फोटोहरू

© 2026 Samriddha Sudurpashchim. All Rights Reserved. developed by Futurelink Technologies Pvt. Ltd