बैतडी — बैतडीको दशरथचन्द नगरपालिका–४, देवलहाटमा पुर्खौँदेखि चलिआएको मौलिक तथा दुर्लभ सांस्कृतिक परम्परा हो—गोरा पर्वको दिन प्रदर्शन गरिने लाखे नाच। वर्षमा एकपटक गोरा पर्वको पवित्र अवसरमा देवलहाटमा परम्परागत रूपमा प्रदर्शन गरिने यो लाखे नाच स्थानीय धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको छ।
पञ्चपरौली समाजका समाजी दाजुभाइहरू एकजुट भएर आपसी भाइचारा, सद्भाव, एकता र सद्बुद्धिको कामना गर्दै पुस्तौँदेखि यस परम्परालाई निरन्तरता दिँदै आएका छन्। स्थानीय समुदायका लागि लाखे नाच केवल मनोरञ्जनको माध्यम नभई पुर्खाले हस्तान्तरण गरेको धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ।

परम्पराअनुसार लाखे नाचमा पाँचदेखि सात जनासम्म सहभागी हुने चलन छ। नाच्ने कलाकारहरू देवलहाटबाट करिब ६ सय मिटर टाढा गएर शरीरमा खरानी, रातो माटो र कमेडु लगाउने गर्छन्। शरीरको तल्लो भागमा एउटा मात्र कपडा लगाई बाँकी शरीरमा केराका पात, झाडी तथा स्थानीय वनस्पतिबाट तयार गरिएका सामग्री धारण गरिन्छ।
लाखे नाच्ने क्रममा कलाकारहरूले हातमा त्रिशूल तथा अक्कडबम–बक्कडबम नामक बाँसका सामग्री लिएर घुँघरुको तालमा नृत्य गर्छन्। नृत्यसँगै गाइने परम्परागत भाकाले भगवान् शिवप्रतिको आस्था र भक्तिभावलाई अभिव्यक्त गर्छ।
“भोले बाबा पायेल बजे घुँघरु,
ब्रह्म नाचे ब्रह्मपुरीमा,
शिव नाचे कैलासमा...”

गोरा पर्वका अवसरमा देवलहाटमा मात्र विशेष रूपमा प्रदर्शन गरिने यो लाखे नाच धार्मिक विश्वास, स्थानीय परम्परा र सामुदायिक एकताको अद्वितीय उदाहरणका रूपमा रहेको छ। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यस परम्पराले देवलहाटको सामाजिक एकता, धार्मिक आस्था र सांस्कृतिक मौलिकतालाई जीवन्त राख्दै आएको छ।
स्थानीयवासीका अनुसार देवलहाटको लाखे नाच बैतडी जिल्लाकै दुर्लभ सांस्कृतिक सम्पदामध्ये एक हो। यसको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै यसको संरक्षण, अभिलेखीकरण, अध्ययन तथा प्रचार–प्रसार आवश्यक रहेको उनीहरूको भनाइ छ।
यस ऐतिहासिक परम्परालाई स्थानीय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार, जिल्ला तथा स्थानीय सरकार र सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्नेमा स्थानीय समुदायले जोड दिएको छ।
विशेषगरी देवलहाटको लाखे नाचको व्यवस्थित अध्ययन, संरक्षण तथा दस्तावेजीकरण गरी युनेस्को (UNESCO) को अमूर्त सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक पहल गर्नुपर्ने स्थानीयवासीको माग छ।
देवलहाटको लाखे नाच केवल एउटा नृत्य होइन। यो पुर्खाको इतिहास हो, धार्मिक आस्था हो, मौलिक संस्कृति हो र समुदायको पहिचान हो। त्यसैले पुस्तौँदेखि जीवित राखिएको यस सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्नु सबैको साझा दायित्व हो।
देवलहाटको लाखे नाच हाम्रो इतिहास हो।
हाम्रो संस्कृति हो।
हाम्रो धार्मिक आस्था हो।
हाम्रो पहिचान हो।

आउनुहोस्, पुर्खाले हस्तान्तरण गरेको यस अमूल्य सांस्कृतिक सम्पदाको संरक्षण गरौँ, यसको दस्तावेजीकरण तथा प्रचार–प्रसार गरौँ र देवलहाटको गोरा र लाखे नाचलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाऔँ।
( बैतडी बाट समृद्ध सुदूरपश्चिम अभियानका अभियन्नता उदय सिंह मारकण्डले तयार पारेको समाग्री )
© 2026 Samriddha Sudurpashchim. All Rights Reserved.
developed by Futurelink Technologies Pvt. Ltd